
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम शुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो ।
वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।
दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् ।
चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । दोस्रो याम (फागुन–वैशाख) का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन् । अहिलेसम्म दुई नाउर मात्र सिकार भएको उहाँले बताउनुभयो । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिनुभयो । त्यो नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गर्नुभएको हो ।
त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन सिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् । त्यो कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उहाँले जानकारी दिनुभयो ।
नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउनुहुन्छ ।
ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा झारलको ८ लाख, नाउराको ६ लाख २५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । दोस्रो याममा एक करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ ।
ढोरपाटनमा हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो