
काठमाडौँ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको म्यानमारबाट बढीभन्दा बढी बुद्धिष्ट पर्यटकलाई नेपालमा आकर्षण गर्ने उद्देश्यले म्यानमागरको याङ्गुनमा बौद्र्ध पर्यटन प्रवर्द्धन गरिएको छ ।
नेपाल पर्यटन बोर्डले याङ्गुनमा ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो–२०२५’ आयोजना गरी पर्यटन प्रवर्द्धन गर्न थालेको हो ।
नेपाल र म्यानमारबीचको ६५औँ कूटनीतिक सम्बन्धका अवसरमा बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा चैत ८ र ९ गते भएको एक्स्पोमा बौद्ध पर्यटन प्रवर्द्धनमा जोड दिइएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ । बौद्ध पर्यटन प्रवर्द्धनका साथै नेपाली पर्यटन उत्पादन, सूचना प्रविधि समाधान तथा अन्य वस्तु प्रदर्शन गरेको हो ।
एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० वटा पर्यटन कम्पनीहरूको सहभागिता थियो । नेपालकोतर्फबाट बौद्ध पर्यटन प्रवर्द्धनमा विशेष जोड दिँदै म्यानमारका पर्यटकलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यसका साथै, म्यानमारलाई बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रको विकासका लागि सहयोगी बनाउन नेपाली सूचना प्रविधि क्षेत्रलाई प्रस्तुत गरिएको पनि बोर्डले उल्लेख गरेको छ । कार्यक्रमको संयुक्त रूपमा म्यानमारका सङ्घीय मन्त्री यु टुन ओन, म्यानमारका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शिव अग्रवाल र म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष यु ए विनले उद्घाटन गर्नुभएको थियो ।
सङ्घीयमन्त्री यु टुन ओनले नेपाल र म्यानमारबीचको व्यापारिक सम्बन्धलाई मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनमा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले दुवै देशका सरकार र निजी क्षेत्रबीच सहकार्य गर्दै पर्यटन विकास, आपसी व्यापार मेला आयोजना र मानवसंशाधन विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यसक्रममा याङ्गुन क्षेत्रका मुख्यमन्त्री यु सो थिन, सरकारी अधिकारी, दुवै देशका व्यावसायिक प्रतिनिधि, म्यानमारस्थित नेपाली समुदाय तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रमकैबीच नेपाल पर्यटन बोर्ड र म्यानमार टुरिज्म फेडरेसनले आयोजना गरको संयुक्त बैठकमा नेपाल र म्यानमारका पर्यटन प्रतिनिधिहरूबीच सहकार्यलाई बलियो बनाउने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।
नेपाली दूतावासले कार्यक्रमको दोस्रो दिन नेपाली परिकार जस्तै मोमो, सेलरोटी, आलुको अचार र नेपाली चिया समावेश गरिएको ‘लाइभ फुड स्टेशन’ को आयोजना गरेको हो । म्यानमारमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखहरूले समेत नेपाली खानाको स्वाद लिएका छन् ।
त्यसैगरी पर्यटन बोर्डले म्यानमारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै बौद्ध पर्यटनलाई प्रोत्साहन गर्न र सूचना प्रविधि क्षेत्रमा सम्भाव्यता खोजी गर्न संयुक्त पहल गरिने प्रतिवद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग