
गण्डकी । पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सुधार र सेवा विस्तारसँगै पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ ।
पुरानो भवन मर्मतसम्भारसहित आवश्यक संरचना थपेर नयाँ व्यवस्थापनका साथ सेवा दिइएको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो ।
दैनिक सरदर ३ सय बिरामी आउने उक्त केन्द्रमा जनशक्ति र उपकरण पनि थप गरी सेवालाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको त्यो केन्द्रमा जनशक्ति र उपकरणको अभाव रहँदै आएको थियो । यसअघि प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन हुँदै आएकामा अहिले त्यसलाई छुट्टाछुट्टै कोठाबाट सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने त्यो केन्द्रलाई सुविधासम्पन्न बनाउन पहल भइरहेको प्रमुख सुवेदीले बताउनुभयो । ‘प्रयोगशाला सेवा अनलाइन प्रणालीबाट सञ्चालनमा आइसकेको छ, भिडियो एक्सरेका लागि उपकरण ल्याउने प्रक्रिया अगाडि बढेको छ’ उहाँले भन्नुभयो– ‘भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई पोखरा महानगरपालिकाकै सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउन सकिन्छ ।’
केन्द्रले प्रयोगशाला परीक्षणको ‘रिपार्ट’ अनलाइन प्रणालीबाट घरमै हेर्न सकिने सुविधा दिएको छ । ‘क्यूआरबाट प्रयोगशालाको रिपोर्ट मोबाइलमै हेर्न सकिन्छ’ प्रमुख सुवेदीले भन्नुभयो– ‘अहिले इसिजी जाँच सेवा पनि थप गरिएको छ, थाइराइडका जाँचका लागि उपकरणको खाँचो छ ।’ बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवालाई थप व्यवस्थित बनाउन लागिएको उहाँको भनाइ छ । पोखरा महानगरपालिका–८ नयाँबजारमा रहेको उक्त केन्द्र पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट सञ्चालित छ ।
केही समय अघिसम्म अस्तव्यस्त देखिने उक्त केन्द्रमा गत मङ्सिरदेखि पूर्वाधार व्यवस्थापन र सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको हो । घेराबार नहुँदा केन्द्रको भवन परिसर सवारीसाधन पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवाहरु सुत्ने स्थलका रुपमा प्रयोग हुँदै आएकामा अहिले पर्खाल र प्रवेशद्वारा निर्माण गरिएको छ । स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर र प्रदेश सरकारसँग पहल भइरहेको प्रमुख सुवेदीले बताउनुभयो ।
बिरामीको चापअनुसार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको संख्या अपुग रहेको छ । १५ जनाको दरबन्दी रहेको त्यो केन्द्रमा २ जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दी अनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ति हुन नसकेको प्रमुख सुवेदीले बताउनुभयो । उपकरण नहुँदा कतिपय बिरामीलाई अन्यत्रका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामीहरु आउने गरेका छन् ।
बीमासँगै निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेकाले केन्द्रमा सेवा लिन आउने बिरामीको जाप बढी हुने गरेको छ । केन्द्रमा स्वास्थ्यचौकी तहबाट प्रदान हुने सबै सेवासहित सामान्य सर्जरी, प्रयोगशाला सेवा, सुरक्षित गर्भपतन आदि सेवा उपलब्ध छन् । प्रयोगशालामा हर्मोनलबाहेकका सबै परीक्षण सेवा उपलब्ध रहेको जनाइएको छ ।
केन्द्रले बहिरङ्ग सेवा, खोप तथा पोषण सेवा, एकीकृत बालरोग व्यवस्थापन, परिवार नियोजन सेवा, सुरक्षित मातृत्वलगायतका सेवा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल