
काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले स्टील र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताउनुभएको छ । उहाँले आइतबार गरेको यो घोषणा व्यापार करको पछिल्लो शृङ्खला हो ।
एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टील’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताउनुभयो ।
सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाउनुभएको थियो । यसलाई उहाँले एशियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको विश्वास गर्नुभएको थियो ।
अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टील र एलुमिनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टील आपूर्तिकर्ता हुन् । क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसक्नुभएको छ ।
रिपब्लिकन अर्बपति ट्रम्पले आइतबार अन्य देशले अमेरिकी उत्पादनमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताउनुभयो ।
‘हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ’ ट्रम्पले भन्नुभयो । उहाँले मङ्गलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताउनुभयो ।
राष्ट्रपतिले पदभार सम्हाले लगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाउनुभएको छ ।
क्यानाडा र मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोक्नुभयो ।
तर चीनविरुद्धको भन्सार भने अघि बढ्यो । मङ्गलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ । बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यास जस्ता केही अमेरिकी उत्पादनहरूमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ ।
गोल्डम्यान स्याक्सका अनुसार नयाँ चिनियाँ भन्सारले १४ अर्ब डलर मूल्यका अमेरिकी सामान समेट्छ भने ट्रम्पले घोषणा गरेको भन्सारले पाँच खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामान समेट्छ ।
स्वर्णिम युग
ट्रम्पले युरोपेली सङ्घ (इयु) मा पनि कर लगाउने वाचा गर्नुभएको छ र उहाँले चाँडै अनिर्दिष्ट ‘पारस्परिक भन्सार’ घोषणा गर्ने बताउनुभएको छ ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले आइतबार प्रसारित एक अन्तर्वार्तामा युरोपप्रति गरिएको वित्तीय धम्कीको विषयमा ट्रम्पसँग सीधा मुकाबला गर्ने प्रतिज्ञा गर्नुभयो । यद्यपि उहाँले संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घको सट्टा चीनमाथि आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
म्याक्रोंले सिएनएनमा युरोपमाथिको कुनै पनि भन्सारको प्रभाव अमेरिकीहरूले महशुस गर्नेछन् भन्दै यसले ‘अमेरिकामा लागत बढाउने र मुद्रास्फीति सिर्जना गर्ने’ चेतावनी दिनुभयो ।
शुक्रबार जापानी प्रधानमन्त्री शिगेरु इशिबासँगको मैत्रीपूर्ण बैठकमा ट्रम्पले टोकियोलाई जापानसँगको अमेरिकी व्यापार घाटा शून्यमा नझारेसम्म निर्यात गरिएका सामानमा भन्सार लाग्नसक्ने चेतावनी दिनुभयो ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्त राज्यको व्यापार घाटा गत वर्ष बढेर करिब ९ खर्ब २० अर्ब डलर पुगेको छ ।
संयुक्त राज्य अमेरिकाका लागि ‘नयाँ स्वर्ण युग’ को वाचा गर्नुभएका ट्रम्पले कुनै पनि शुल्कको प्रभाव अमेरिकी उपभोक्तालाई नदिई विदेशी निर्यातकर्ताले वहन गर्ने कुरामा जोड दिनुभएको छ । यद्यपि धेरै विज्ञले यसको विपरीत बताएका छन् ।
तर यस महिनाको सुरुमा मेक्सिको, क्यानाडा र चीनमाथि भन्सार घोषणा गरेपछि उहाँले अमेरिकीहरूले आर्थिक ‘पीडा’ महशुस गर्न सक्ने स्वीकार गर्नुभयो ।
ट्रम्पले आफ्ना व्यापक नीतिगत लक्ष्य हासिल गर्न भन्सारलाई धम्कीको रूपमा प्रयोग गर्नुभएको छ । सबैभन्दा पछिल्लो पटक उहाँले कोलम्बियाले निर्वासित आप्रवासी बोकेका अमेरिकी सैन्य विमानहरूलाई फर्काउँदा त्यसमाथि भन्सार लगाउने बताउनुभएको थियो ।
ट्रम्पसँगको एक दिनको टकरावपछि कोलम्बियाली सरकार पछि हटेको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै