
लिस्बन (पोर्चुगल) । नेपाली सेफ टङ्क सापकोटाले निर्माण गर्नुभएको इटालियन खानासम्बन्धी वृत्तचित्र ‘इटालीको स्वाद’ सार्वजनिक गरिएको छ ।
वृत्तचित्र पोर्चुगलको राष्ट्रिय टेलिभिजन टिभीआईमार्फत सार्वजनिक एवं प्रसारण गरिएको जनाइएको छ । वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटिएको छ ।
पोर्चुगिज चलचित्र निर्देशक टियागो पीडे कार्भाल्होले निर्देशन गर्नुभएको उक्त वृत्तचित्र इटालीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । पोर्चुगिज र इटालियन भाषाको सम्मिश्रणमा निर्माण गरिएको वृत्तचित्रमा सापकोटा स्वयं प्रमुख पात्र र प्रस्तोताका रुपमा प्रस्तुत हुनुभएको छ ।
वृत्तचित्रमा मूलतः इटालियन परम्परागत खानाका जड, इटालियन खानाका रहस्य, इटालियन पाककलाको स्वाद र खानपानको शैलीलाई पस्कने प्रयास गरिएको छ । वृत्तचित्रलाई एउटा नेपालीले युरोपमा रहेर तीन दशकदेखि विदेशी परिकार इटालियन खानाका पारखीहरुलाई उत्कृष्ट स्वाद पस्कँदै प्राप्त गरेको सफलताका रुपमा समेत लिइएको छ ।
साथै खानाका पारखीदेखि लिएर प्रख्यात इटालियन सेफहरु, पाककलासँग सम्बन्धित विभिन्न व्यक्तिहरु र ८३ वर्षीया इटालियन वृद्धा भान्सेसँग इटालियन पाककला, खानाका परिकार, स्वादिष्ट भोजन र व्यञ्जन तथा बहुमूल्य ट्रफलको खोजीलगायत विषयमा खोज, जानकारी, संवाद र साक्षात्कार गरिएको छ ।
इटालियन खानाका परिकार र विश्व बजारमा बहुमूल्य मानिने ह्वाइट ट्रफलको खोज अनुसन्धान र लिलामीलाई वृत्तचित्रमा प्रस्तुत गर्न खोजिएको जनाइएको छ । सेफ सापकोटाले इटालियन खानासम्बन्धी आर्जन गरेको ज्ञान, सीप, कला र कौशलातालाई समेत वृत्तचित्रमा चित्रण गरिएको छ ।
आइतबार पहिलो भाग प्रसारण भएको वृत्तचित्र शृङ्खलाबद्ध रुपमा छ भाग प्रसारण हुनेछ । वृत्तचित्रलाई नेपाली भाषामा समेत अनुवाद गरेर नेपालमा प्रदर्शन गर्ने आफ्नो योजना रहेको सापकोटाले बताउनु्भयो । करिब २८ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आउनुभएका बागलुङ दमकका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुराँ सञ्चालनमा छन् । ट्रफल एम्बेस्डरसमेत रहनुभएका सापकोटाले पाककलामा उत्कृष्टता प्रदर्शन गरेकै कारण दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।
गत वर्ष मात्रै राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ युरोपकै उत्कृष्ट रेष्टुराँमा पर्न सफल भई अन्तरराष्ट्रिय अवार्ड प्राप्त गरेको थियो भने गत वर्ष नै सापकोटाले तालिमप्राप्त कुकुर, इटालियन ट्रफल सिकारीको सहयोग तथा इभोरा विश्वविद्यालयसँगको सहकार्यमा पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल ९जमिनमुनि पाइने कालो प्रजातिको ग्रीष्मकालीन च्याउ० फेला पार्न सफल भएका थिए ।
सापकोटाले फेला पारेको उक्त ट्रफल पोर्चुगलको इभोरा विश्वविद्यालय, कृषि विज्ञान संस्थान, राष्ट्रिय कृषि तथा पशु चिकित्सा अनुसन्धान संस्थानका अनुसन्धानकर्तासहितको वैज्ञानिकको टोलीले पुष्टि गरेको थियो ।
उहाँले कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकालार्ई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै