
कैलाली। धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र एपिएफ क्लब भिड्ने भएका छन् । आज सम्पन्न सुपर फोरको अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिमले फाइनलको यात्रा तय गरेको हो ।
सुदूरपश्चिमको जितमा रितु कनौजियाले अलराउन्ड प्रदर्शन गरिन् । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १२ रन बनायो । जसमा रितुले अविजित ३४ र मनिषा बोहराले १६ रन जोडिन् ।
सुदूरका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा बागमतीका लागि मनिषा उपाध्याय र सोनु खड्काले तीन–तीन र विपिशा शाहीले एक विकेट हात पारिन् ।
जितका लागि पाएको एक सय १३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रनमा अलआउट भयो । बागमतीका यशोदा विष्टले ३० र हिलिसा गुरुङले २३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका कविता कुँवर र करिष्मा थापाले दुई–दुई र रितु कनौजिया र आशिका महराले एक–एक विकेट हात पारिन् । रितु प्लेयर अफ द म्याच चुनिइन् ।
आजको हारसँगै बागमती प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा पुगेको सुदूरपश्चिमले एपिएफसँग फाइनलमा भिड्ने छ । यसअघि आजै भएको अर्को सुपर फोरको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको छ । उपाधि भिडन्त शनिबार बिहान १० बजे हुनेछ ।
यही माघ १ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख, प्लेयर अफ द सिरिजलाई रु ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरलाई रु २५–२५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु