
मोरङ । बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ ।
मकै पोलेरै पाँचजनाको परिवारको जिविका चलाउँदै आउनुभएका उहाँले भन्नुभयो– ‘व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी हुन्छ ।’ उहाँका अनुसार हाल २५ रुपैयाँ प्रतिघोगा किनेको हरियो मकै ४० रुपैयाँ प्रतिघोगाले बिक्री हुन्छ ।
बेलबारी–१० भाउन्ने घर भएका रमेश कुँवरले पनि मेघराजले झैँ सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आउनुभएको छ । घरमै होटल व्यवसाय सञ्चालन गर्नुभएका उहाँले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थाल्नुभएको हो । हाल यो पेसाप्रति सन्तुष्ट रहेको उहाँले बताउनुभयो । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांशले यहाँ गाडी रोकेका बेला पोलेको मकै किनेर खाने गर्छन् ।
कानेपोखरी गाउँपालिका–५ बाट मकै पोल्न आउने गर्नुभएकी ५४ वर्षीया सुस्मिता राईले छोरीको सहयोगमा विगत चार वर्षदेखि मकै पोल्दै आउनुभएको छ । कानेपोखरी–५ की दुर्गा तामाङ पनि दुई वर्षदेखि सोही स्थानमा मकै पोलेर बेच्दै आउनुभएको छ । दैनिक एक सय घोगा पोलेको मकै बिक्री हुने उहाँ बताउनुहुन्छ । जाडोमा मकै पोल्न सजिलो भएपनि गर्मीमा गाह्रो हुने उनीहरु बताउँछन् ।
यात्रुहरु र सवारी चालकले पनि यहाँ पोलेको मकै देखेपछि गाडी रोकेरै खाने गरेका छन् । ‘यो राजमार्गमा यात्रा गर्दा यहाँ पोलेको मकै नखाई चित्तै बुझ्दैन’ ट्रक चालक रामु चौधरीले भन्नुभयो– ‘मकै खाँदै यहाँ आराम गर्दा थकाइ पनि मेटिने, मकै पनि स्वादिलो हुने भएकाले बानी नै परिसकियो ।’
चिसाङ खोला छेउमा पोलेको मकै रुचाउने मानिसहरुको भीड लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरुको खाजा खाने नयाँ गन्तव्यका रुपमा यो ठाउँ विकास भइरहेको छ । कोभिड–१९ को महामारीदेखि यहाँ वैकल्पिक व्यवसायका रुपमा मकै पोल्न सुरु भएको हो । यहाँ २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेशा गर्दै आएका छन् ।
वन कार्यालयले पहिलेदेखि यहाँबाट मकै पोल्नेलाई हटाउन कोसिस गरिरहेको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरका अनुसार अतिक्रमण नियन्त्रण गर्न वन क्षेत्रमा पर्ने उक्त स्थान खाली गर्न लागिएको हो ।
सर्वसाधारणको जिविका चलिरहेको यहाँबाट विस्थापित गर्न खोजिएपछि उचित व्यवस्थापनका लागि बेलबारी नगरपालिकाले बेलबारी–१० स्थित भाउन्ने चोक पुर्वपट्टि स्थायी रुपले व्यवसाय गर्ने ठाउँको व्यवस्थापन गर्ने योजना बनाएको नगरप्रमुख दिलप्रसाद राईले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव