
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उहाँको भनाइ छ ।
“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतङ्कले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ”, उहाँले भन्नुभयो ।
जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् । अहिलेसम्म ३० हजारभन्दा बढीको सुन्तलाका दाना बाँदरले क्षति गरिसकेको बरुवाल बताउनुहुन्छ । दिनभर फूलबारीमै धरालो बसेर धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको किसान सुबोध बरुवालले बताउनुभयो ।
“फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दुःख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतङ्क नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो । सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन् ।
अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतङ्क पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताउनुभयो । “बाँदर नियन्त्रणका लागि स्थानीयस्तरमा धेरै प्रयास भएका छन्, तर स्थानीयको प्रयास विफल भएको छ, राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन बनाएको सुनिएको थियो, अब मेसिन, उपकरण र प्रविधिकै प्रयोग गरेर भएपनि बाँदरलाई नियन्त्रण गर्नैपर्ने भएको छ”, वडाध्यक्ष खड्काले भन्नुभयो ।
घारको बिरौटा, झरपाट, बैँसरी, हल्लेखर्क, लुलाए, कुरमुनीलगायतका बस्तीमा व्यावसायिक रुपमा सुन्तलाखेती हँुदै आएको छ । करिब १५ हजारभन्दा बढी सुन्तलाका बोट लगाइएको घारमा वार्षिक करिब रु ४० देखि ५० लाख बराबरको सुन्तला बिक्री हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध