
काठमाडौँ । सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो । राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६ औँ आवधिक योजनासँग समन्वय हुनेगरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिले अर्थ–सामाजिक विकासका लागि आवश्यक राजस्व परिचालन र निजी क्षेत्र तथा करदाताको आकाङ्क्षाबीच सन्तुलन कायम गर्ने विश्वास सरकारको छ ।
आन्तरिक राजस्व परिचालन रणनीतिले देशको कर नीति र प्रशासनमा सुधारका लागि स्पष्ट संरचनागत रूपरेखा प्रस्तुत गरेको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिको मुख्य उद्देश्य आर्थिक दक्षता र समानतालाई प्रवर्द्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुका साथै कर र गैरकर राजस्वको स्थिर प्रवाह सुनिश्चित रहेको रणनीतिमा उल्लेख छ । सरकारको कोषमा स्थायित्व कायम राख्दै बजेट घाटालाई व्यवस्थापन गर्न पनि योगदान पुर्याउने अपेक्षा रणनीतिमार्फत गरिएको छ ।
सरकारी कोषलाई सुदृढ बनाउन आन्तरिक स्रोतबाट राजस्व परिचालन वृद्धि गर्नु, कर कानुन र सञ्चालन प्रणालीहरूसँग करदाताको स्वेच्छिक परिपालना, कर र भन्सार प्रशासनको जोखिम व्यवस्थापन क्षमता सुदृढ गर्ने, कर र भन्सार प्रशासनमा स्वचालित बनाउनु लगायत रणनीतिका उद्देश्य छन् ।
कर नीति निर्माण र कार्यान्वयनका लागि अन्तर–सरकारी र अन्तर–सङ्गठनात्मक समन्वय तथा सहकार्य बढाउनका रणनीति जारी भएको हो । सरकारले सबै आम्दानीका स्रोतलाई समावेश गर्दै प्रगतिशील करका दरसहितको कर प्रणालीलाई शुरु गर्ने उद्देश्य रणनीतिमा छ ।
कर राजस्व र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातलाई सोह्रौँ पञ्चवर्षीय योजनाले निर्धारण गरेका राजस्व लक्ष्यसँग समन्वय गर्दै लगिने रणनीतिमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० (२०२२/२३) मा १८ दशमलव नौ प्रतिशत रहेको राजस्व–जिडीपी अनुपातलाई आव २०८५/८६ (२०२८/२९) को अन्त्यसम्म २३ दशमलव पाँच प्रतिशत पुर्याउने महत्वाकाङ्क्षी लक्ष्य रणनीतिमा समावेश छ । यो अवधिमा कर राजस्व र जिडीपी अनुपात १६ दशमलव दुई प्रतिशतबाट बढेर २० दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । रणनीतिमा समाविष्ट कार्ययोजना तथा राजस्व सुधारका उपायको कार्यान्वयनबाट कर राजस्व–जिडिपी अनुपातमा थप दुई दशमलव चार प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ ।
यसैगरी, कर र भन्सार प्रशासनमा सुधारबाट थप शून्य दशमलव एक प्रतिशत कर राजस्व सङ्कलन हुने अपेक्षा गरिएको छ । आव २०७९/८० (२०२२/२३) मा सात दशमलव दुई प्रतिशत रहेको बजेट घाटा–जिडिपी अनुपातलाई घटाएर रणनीति कार्यान्वयनको अन्तिम वर्ष छ दशमलव पाँच प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ ।
मुलुकको समग्र कर नीति, प्रशासन, शासन संरचना, संस्थागत संरचना, नीति कार्यान्वयन संयन्त्र, अनुगमन तथा मूल्याङ्कन प्रणालीको सुधार र पुनःसंरचनाका लागि व्यवस्थित खाकाका रुपमा रणनीति जारी भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री