
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरीपालन गर्नुभएको छ । विसं २०६९ देखि परम्परागत घार (खोपा र डुँड) बनाएर एपिसेरेना जातको मौरीपालन सुरु गर्नुभएका ३२ वर्षीय दिनेशले एक याममा कम्तीमा एक सय ५० बोतल मह बिक्री गरेर मनग्गे आम्दानी गर्दै आउनु भएको छ ।
पाँच सय मिलिलिटरको बोतलमा भरिएको मह प्रतिबोतल रु एक हजार पाँच सयमा बिक्री गर्ने गरिएको दिनेश बताउनुहुन्छ । हाल दिनेशको घरमा ३० वटा खोपा घार र १७ वटा काठको डुँड छन् । त्यसमध्ये अहिले ४० घारमा मौरी छन् । दिनेशले वर्षको दुई पटक जेठ र मङ्सिरमा मौरीको मह निकाल्ने गर्नुभएको छ ।
गत कात्तिकदेखि हालसम्म एक सय ३५ बोत्तल मह बिक्री भइसकेको दिनेशले जानकारी दिनुभयो । “फोनबाट सम्पर्क गर्दै ग्राहक घरैमा आइपुग्छन् । कहिलेकाहीँ मह खोज्दै आउनेको भीड नै लाग्छ । महबाट आउने आम्दानीले नै छ जनाको परिवार चलिरहेको छ”, दिनेशले भन्नुभयो, “आगामी दिनमा थप घार विस्तार गर्ने योजना छ । काठका लागि स्थानीय सामुदायिक वनसँग कुरा गरिसकेको छु ।” मह काढ्ने समय भएपछि दिनेश तस्वीर र भिडियोसहित आफ्नो सम्पर्क नम्बर फेसबुकमा राख्नुहुन्छ । ग्राहक त्यही सम्पर्क नम्बरमार्फत मह किन्न पुग्छन् ।
मध्यपहाडी राजमार्गको मुढेबाट करिब पाँच मिनेटमाथि रहेको दिनेशको घर पुग्ने कच्ची सडक बनिसकेको छ । व्यावसायिक मौरी पालनका लागि दिनेशले पुरानो घरको पर्खालमा दश खोपा घार र नयाँ घरमा २० वटा खोपा घार बनाउनुभएको छ । “घर बनाउने क्रममै काठको खोपा बनाएर पर्खालमा लहरै मिलाएर राख्नुपर्ने हुन्छ । डुँड घारलाई भने पानीले नभेट्नेगरी घरको छानामुनि राख्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय डुँडलाई बाहिर बारीको कुनामा छाना हालेर राखिएको छ । शौचालयको पर्खाललाई समेत खोपा घारको रुपमा उपयोग गरेको छु । लेकाली भेगमा हुने मौरीले आधुनिक घारभन्दा यसैलाई रुचाउँछ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नूनथलास्थित गैरीगाउँ पुगेका बेला घरको भित्ता र काठको डुँडमा मौरीपालन गरेको देखेपछि आफूले पनि सुरु गरेको दिनेशले बताउनुभयो । नूनथलामा देखेपछि आफ्नो घर बनाउने क्रममा आफूले पनि सोहीअनुसार घरको भित्तामा खोपा घार र काठको डुँड बनाएर मौरीपालन सुरु गरेको उहाँले बताउनुभएको छ । व्यावसायिक मौरीपालनका लागि सीप सिक्न गोदावरीसम्म पुगेको दिनेशले जानकारी दिनुभएको छ ।
“मावली घरमा देखेर त्यस्तै खालको घार बनाएँ । नभन्दै मौरी आफै घार खोज्दै आएर बस्यो । मौरी बढ्दै गयो । अरु काम गर्न उत्साह जगायो”, उहाँले भन्नुभयो, “धोद्रो भएको रुख काटेर घार थप गर्दै गएँ । अहिले यसैबाट गुजारा चलिरहेको छ । दातृ निकायको सहयोग पाए थप विस्तार गर्ने योजनामा छु ।”
लालीखर्कस्थित दिनेशको घरभन्दा केहीमाथि घना जङ्गल छ । जङ्गलमा चुत्रो, चिराइतो, पात्ले, मान्द्रे, ठेकीफललगायत मौसमी फूल फुल्छन् । त्यही कारण पनि दिनेशलाई मौरी पालनका लागि सहज भएको छ । पछिल्लो समय मौरी पालनका लागि जताततै आधुनिक घार प्रयोगमा आइसकेको छ तर, दिनेशले हालसम्म आधुनिक घार प्रयोग गर्नुभएको छैन । लेकमा आधुनिक घार चिसो हुने र मह कम निकाल्ने भएकाले आधुनिक घार प्रयोग नगरेको दिनेशले बताउनुभयो ।
अहिले सरकारी अनुदान लिनेको कमी छैन । दिनेशले भने हालसम्म कहीँकतैबाट अनुदान लिनुभएको छैन । आफ्नै बलबुतामा मौरीसँग रमिरहनुभएको छ । “नक्कली किसानले अनुदान पाउँछ, अनुदानका लागि एक पटक घरेलु पुगेको थिएँ । समूह बनाएर आउनु भनियो, त्यसपछि गइनँ”, दिनेशले भन्नुभयो, “अनुदानको सही सदुपयोग भइरहेको छैन । मौरी पालनलाई थप विस्तार गर्ने योजना छ । तीस वटा खोपा घार हुने गुवाली बनाउने योजना बनाएको छु ।”
चार वर्षअघि मुढेमा हिमपात हुँदा दिनेशको ३६ घार मौरी सखाप भएको थियो । मौरी नै नरहेपछि कतिपय घार चिरेर दाउरा पोल्नुभएका दिनेशले घार सफा गरेपछि पुनः आफै मौरी आएको बताउनुभयो । बुबा भारतीय सेनाबाट अवकाश भए पनि दिनेशले उहाँको पदचापलाई पछ्याउनु भएन, कृषि पेसातिर लम्किरहनुभयो । दिनेशका बुबा मानबहादुर तामाङको गत वर्ष नै मृत्यु भइसकेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध