
दमौली । मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् ।
अहिलेका पुस्ताले झामरे नाच बिर्संदै गएकाले लोप हुने खतरा बढेपछि यसको संरक्षणको पहल गरिएको युवा क्लबका संयोजक दानबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका पुस्तालाई पुरानो संस्कृतिप्रति कम चासो हुन्छ । त्यसले गर्दा हाम्रो यो नाच नै लोप हुने हो कि भन्ने चिन्ता लागिरहन्छ । त्यसैले गर्दा यसको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्य राखेका छौँ ।”
पछिल्लो केही वर्षयता युवा क्लबकै सक्रियतामा झामरे नाच संरक्षणका लागि पहल थालिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसलाई जीवन्त राख्दै नयाँ पुस्तालाई सिकाउनुपर्छ भनेर लागिपरेका छौँ । अहिलेका पुस्ता पनि यसमा आकर्षित छन् ।”
झामरे नाच मगर समुदायको मौलिक नृत्य हो । आधुनिक संस्कृतिको प्रभावका कारण मौलिक संस्कृति लोप हुन थालेको स्थानीय सिद्ध आलेको गुनासो छ । उहाँले भन्नुभयो, “परम्परागत रीतिरिवाज र संस्कृतिको संरक्षणका लागि पहल थालिएको हो ।”
नेपाली मौलिक संस्कृति र मगर जातिको संस्कृतिसँग जोडिएको झामरे नाचलाई पुर्नजीवित गराउन आफूहरु जुटेको उहाँको भनाइ छ । उहाँका अनुसार मगर समुदायमा यो नाच लामो समयसम्म नचाउने गरिन्छ । हरेक वर्ष दसैँको अष्टमीदेखि सुरु हुने यो नाच माघसम्म नचाइन्छ । मादल, झर्रा र डम्फुको तालमा युवायुवतीले गीत गाएर सामूहिकरुपमा नाच्ने प्रचलन छ । यसले समुदायमा भाइचारा विकास गर्न सहयोग पुग्ने भनाइ छ ।
तनहुँ, नवलपुर, पाल्पा, स्याङ्जा, गोरखा र बागलुङलगायतका मगर जातिको बाहुल्य रहेको ठाउँमा झामरे नाच नाच्ने प्रचलन रहँदै आएको छ । मगर समुदायको बाहुल्य रहेको ऋषिङमा झाम्रे नाच संरक्षणका लागि स्थानीय तहले पनि सहयोग गर्दै आएको छ ।
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मगर समुदायको यो नाच संरक्षणका लागि पालिकाले सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ऋषिङ कला र संस्कृतिमा धनी छ । त्यसमाथि मगर बाहुल्य रहेको यो पालिकामा झामरे नाच संरक्षणका लागि पालिकाका तर्फबाट बजेट विनियोजन गरिएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री