
चितवन । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो ।
श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० (Dash 8 Q 400) जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले उहाँहरूलाई स्वागत गर्नुभएको थियो ।
अध्यक्ष मित्तलले ८० जना यात्रु बोक्न सक्ने क्षमताको जहाज सहज अवतरण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान गर्न सकिने बताउनुभयो । उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उहाँले जानकारी दिनुभयो । अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौँ र पोखरा उडान गर्दै आएको छ । एकतर्फी भाडा ४ हजार ७ सय रुर्पयाँ भन्दा माथि छ ।
यो विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटरमात्र लामो छ । धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने उहाँले जानकारी दिनुभयो । भरतपुरबाट काठमाडौँ उडान भर्दा ५५ जना र काठमाडौँबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान उहाँको छ ।
जहाजको सहज अवतरणपछि गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले आफू अन्त्यमा आएर जोडिएको भन्दै शुरुवातदेखि निरन्तर लागिरहनुभएका महानगरपालिका प्रमुख दाहाल लगायत सबैलाई धन्यवाद दिनुभयो ।
पर्यटनमन्त्री तामाङले महानगरपालिकाको प्रमुखको निरन्तर सात वर्षको मेहनत, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको चाहनाका कारणले चितवनवासीले सोचेको भन्दा छिटो विमानस्थल स्तरोन्नति र विस्तारको काम हुन लागेको बताउनुभयो । उहाँले काम नरोकिने जनाउँदै यथाशक्य छिटो विमानस्थल विस्तारको काम सम्पन्न हुने बताउनुभयो ।
महानगर प्रमुख दाहालले आफू पहिलोपटक प्रमुख भएपछि पहिलो कार्यपालिकाको बैठकबाट यो विषयलाई निर्णय गरेर निरन्तर लागेको जनाउँदै सबैलाई धन्यवाद दिनुभयो । उहाँले विमानस्थल विस्तारसँगै कम भाडादरमा यात्रुले हवाईयात्रा गर्न पाउने भन्दै श्रीएयर यहाँ आएर यात्रुलाई सहज हुने बताउनुभयो । यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाँको भनाइ छ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले यथाशक्य छिटो श्रीएयरलाई भरतपुर उडानका लागि अनुमति दिइने बताउनुभयो । आउँदो जनवरी सम्ममा विमानस्थल विस्तारको काम थाल्ने जनाउँदै उहाँले यससँगै चौबीसै घण्टा जहाज चलाउन सकिने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री