
चितवन । गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले नारायणी नदीमा डल्फिन भेटेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत सुजिता श्रेष्ठका अनुसार मङ्गलबार गोलाघाटबाट बागवान पोष्ट आउँदै गर्दा नारायणी नदीको भुताहा पोष्टमा डल्फिन देखिएको थियो ।
गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो । गोलाघाटबाट ¥याफ्टिङमा दुई घण्टा दूरी पार गरेपछि देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उहाँको भनाइ थियो ।
अनुगमनका क्रममा निकै दुर्लभ मानिएको पाँचवटा भाले घडियाल गोही भेटिएका छन् । नदीमा भाले गोहीको अभाव भएपछि २०७४ साल पुसमा बर्दियाबाट एउटा भाले गोही ल्याएर राप्ती नदीमा छोडिएको थियो । अधिकृत श्रेष्ठका अनुसार राप्ती नदीमा तीन र नारायणी नदीको गोलाघाट र बागवान पोष्टमा दुईवटा भाले गोही देखिएका छन् ।
तीन दिनमा राप्ती नदीको अनुगमन सकेर नारायणी नदीमा अनुगमनको काम भइरहेको छ । नारायणी नदीमा तेस्रो दिन बागवान पोष्टबाट नारायणगढतर्फ अनुगमनको काम भइरहेको हो । बिहीबार नारायणी नदीको अनुगमन सकेर शुक्रबारदेखि बूढीराप्तीमा अनुगमन गर्ने कार्यक्रम छ ।
अधिकृत श्रेष्ठका अनुसार नारायणी नदीको भेलौजी क्षेत्रमा समेत भाले गोही रहेको अनुमान छ । राप्ती नदीमा १ सय ४८ वटा गोही देखिएका छन् । नारायणी नदीमा दुई दिनमा एक सयवटा गोही देखिएको उहाँले जानकारी दिनुभयो । अबको दुई दिन नारायणी नदी र एक दिन बूढीराप्तीमा अनुगमन गरिँदै छ ।
हरेक वर्ष यसै समय नदीमा गोहीको अवस्था बुझ्न अनुगमन गर्ने गरिन्छ । निकुञ्जका घडियाल गोही प्रजनन केन्द्र हेर्ने सहायक संरक्षण अधिकृतको नेतृत्वको टोलीले एक साता लगाएर अनुगमन गर्ने गर्दछ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आउँदो चैत र वैशाखमा नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर कसरास्थित प्रजनन केन्द्रमा बच्चा कोरल्ने गरिन्छ । त्यहाँ बच्चा हुर्काएर पुनः नदीमा छोड्ने गरिएको छ । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोही संरक्षणका लागि प्रजनन् केन्द्र स्थापना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै