
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उहाँले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिनुभएको हो । नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस्’ उहाँले भन्नुभयो– ‘जहाज खरिद प्रक्रिया शतप्रतिशत सही, त्रुटिरहित र पारदर्शी हुनुपर्छ । यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोस् ।’
हाम्रा कतिपय नीति नियम पर्यटकमैत्री नभएकाले त्यसलाई तत्काल बदल्ने प्रक्रिया अगाडि बढाउनु जरुरी रहेका प्रधानमन्त्रीको भनाई छ । पर्यटकका लागि सहज वातावरण बनाउनेतर्फ सबैले सोचौँ । तपाईंहरूले प्रस्ताव ल्याउनुस्, निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौँ । पर्यटकीय क्षेत्रमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ । यसमा पनि सरकार लचिलो हुनुपर्छ’ उहाँले भन्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थल प्रभावकारीरुपमा सञ्चालन हुन नसकेको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले पर्यटकका लागि निषेधित क्षेत्र घोषणा गरिएकामा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कूटनीतिक पहल लिनुपर्ने बताउनुभयो ।
छलफलमा खानेपानीमन्त्री महेन्द्रराय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराती, राज्यमन्त्री सुशीला श्रीपाली, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति सचिव दीपक काफ्ले, अर्थसचिव कृष्णहरि पुष्करलगायतले आ–आफ्नो मन्त्रालय र जिम्मेवारीसँग सम्बन्धित विषयमा धारणा राख्नुभएको थियो ।
धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्नुस्
प्रधानमन्त्रीले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ता दिक्दार भएकाले त्यो समस्या तुरून्त समाधान गर्न निर्देशन दिनुभएको छ । उहाँले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिनुभएको हो । ‘धारामा पानी नआउने तर बिल चाहिँ आइरहने समस्या के हो ? यसबाट उपभोक्ता दिक्दार छन् । त्यसैले कहाँकहाँ त्यस्तो समस्या छ’ उहाँले भन्नुभयो– ‘जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनाबद्धरूपमा काम गर्नुस् ।’
मेलम्ची खानेपानी आयोजनाको कामलाई थप तीव्र पार्नसमेत उहाँले निर्देशन दिनुभयो । दैनिक १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पु¥याउने योजनासहित २८ दिनको एकीकृत कार्ययोजना निर्माण भई अहिले दुई सत्रमा काम भइरहेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “एक महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याइन्छ । यसैअनुरूप खानेपानी मन्त्रालयको नेतृत्व र सबै टिमले विशेष चासो दिएर काम गर्नुहोला ।”
काठमाडौँ उपत्यकामा अहिले दैनिक २५ करोड लिटर खानेपानीको माग रहेकाले मेलम्चीबाहेक अन्य स्रोतको पनि पहिचान गरी कार्य गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । मकवानपुरस्थित सिस्नेरी खोलाबाट एघार करोड लिटर पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्नका लागि सम्भाव्यता अध्ययन भइरहेकाले यसलाई तीव्रता दिन उहाँले सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । ‘पहाडी तथा हिमाली क्षेत्रमा महिलाले घरदेखि टाढाबाट गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने अवस्था छ । यसबाट महिलामा आङ खस्ने समस्या देखिएको अवस्था छ । यसलाई सम्बोधन गर्ने प्रस्ताव ल्ययाउनुस्’ उहाँले भन्नुभयो ।
बैठकमा खानेपानी मन्त्री महेन्द्रराय यादवले खानेपानी आयोजनामा संरचनागत सुधार जरूरी रहेको बताउँदै सार्वजनिक खरिद नियमावलीको सरलीकरण, कानुनी समस्याको सम्बोधन गरी खानेपानी आयोजना निर्माणमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय समुदायलाई आकर्षित गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले चुरेमा रिजर्भ ट्याङ्की बनाएर चुरे क्षेत्रको रिचार्ज गर्नुपर्ने भन्दै काठमाडौँमा रहेका ढुङ्गेधाराबाट खेरगइरहेको खानेपानीको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यसचिव डा अर्यालले मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाको पानी मेलम्ची आयोजनामा जोड्ने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । मेलम्ची आयोजना निर्माणका क्रममा बाँकी रहेको बक्यौता रकम कानूनी प्रक्रिया मिलाएर टुङ्ग्याउनुपर्ने उहाँको भनाइ थियो । उहाँले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि केही नयाँ प्रावधान राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयका सचिव मणिराम गेलालले खानेपानी मन्त्रालयमातहतका काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय मर्जर गर्ने कामलाई छिटो टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो । उहाँले केयुकेएलको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिँदै खानेपानीको महशुल पुनःनिर्धारण गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालले धारामा पानी नआउँदा पनि खानेपानीको महशुल तिर्न उपभोक्ता बाध्य रहेकाले यस्तो महसुस सरकारले मिनाहा गर्नुपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव