
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्बासी समस्या समाधानको लागि कानुन खुकुलो बनाइने बताउनुभएको छ ।
प्रधानमन्त्रीले शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान गर्न सरकारले प्रक्रिया शुरु गरिसकेको बताउनुभएको हो । ‘देशभरीको सुकुमबासी समस्या सामाधान गर्न कानुनमा जहाँजहाँ बाधा छन्’ उहाँले भन्नुभयो– ती अड्चन फुकाउने र लालपुर्जा वितरणलाई सहज बनाउने प्रक्रिया शुरु गरिसकेको छु । सुकुम्बासी समस्याको दिगो समाधानमा सरकार केन्द्रित भएको छ ।’ मिक्लाजुङमा किसानले उत्पादन गरेको दूधको भुक्तानी रोकिएको विषयमा आफूले भर्खरै जानकारी पाएको उल्लेख गर्दै उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र दूग्ध विकास संस्थानसँग छलफल गरेर किसान पाउनुपर्ने रकम चाँडै नै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभयो ।
प्रधानमन्त्रीले किसानका समस्या समाधानमा सरकार गम्भीर भएर लागेको दृष्टान्त दिँदै केही दिनअघि मात्रै उखु किसानले पाउनुपर्ने ठूलो रकम भुक्तानी गरिएको बताउनुभयो । ‘उखु किसानको करिब ५२ करोड रुपैयँँ बक्यौता तिर्न बाँकी रहेछ । मन्त्रिपरिषद्बाट उक्त रकम भुक्तानीको निर्णय भएको छ । उखुको न्यूनतम् मूल्य पनि निर्धारण गरिएको छ’ उहाँले भन्नुभयो– दुग्ध किसानको पनि लामो ऋण बाँकी छ, त्यो ऋण तिर्न र सहुलियतमा ऋण उपलब्ध गराउन पहल गर्छु ।’
एक वर्षको अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले अर्को वर्ष नयाँ ढङ्गबाट काम गर्ने दृढता व्यक्त गर्नुभयो । ‘मैले जहिले पनि निरन्तरतामा क्रमभङ्ग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु’ उहाँले भन्नुभयो– अब जनताका काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिसकेको छु ।’ सिंहदरबारमा विभिन्न मन्त्री र सचिवलाई बोलाएर मन्त्रालयका कामका बारेमा जानकारी लिँदै आएको उल्लेख गर्दै उहाँले लक्ष्य प्राप्त गर्ने दिशामा अघि नबढ्ने मन्त्री परिवर्तन गर्ने बताउनुभयो । ‘अब ठीक ढङ्गले काम भएन, आफूले प्रतिबद्धता व्यक्त गरेको काम पनि कतिपय मन्त्रालयले पूरा गरेका छैनन्’ उहाँले भन्नुभयो– त्यस्ता मन्त्रालयहरुलाई पुर्नगठन गरेर, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु ।’ प्रदेशको नामकरणको विषयमा जनताले व्यक्त गरेको चिन्ताका सम्बन्धमा आफू जानकार रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दल र आन्दोलनरत पक्षसँग छलफल गरेर समस्या समाधान गरिने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहालले युद्धकालमा मिक्लाजुङ मोरङको आधार इलाकाका रुपमा रहेको स्मरण गर्दै शान्ति प्रक्रिया प्रवेशका क्रममा ठूलो र ऐतिहासिक प्रशिक्षण यही क्षेत्रमा राखिएको बताउनुभयो । मिक्लाजुङ क्षेत्रमा सडक, खानेपानीलगायत समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै