
महोत्तरी । पछिल्लो साता दैनिकजसो परिरहेको पानीले जिल्लामा डढेलोका घटना भएका छैनन् । जिल्लाको वनक्षेत्रका बासिन्दालाई पानी परेर आगलागीका घटना नभएपछि डढेलोको त्रासबाट राहत मिलेको छ ।
बस्तीसँगै जोडिएको वनमा दिनहुँ बढेको डढेलोले घरै टिप्ला भन्ने त्रासमा रहेका बासिन्दालाई चैत दोस्रो सातादेखि दैनिकजसो परिरहेको पानीले राहत मिलेको स्थानीय मनमाया ल्हायोले बताउनुभयो । ‘फागुन लागेदेखि वनमा दैनिकजस्तो डढेलो देखिएपछि डढेलो बस्ती पस्ने त्रास थियो’ उहाँले भन्नुभयो, ‘चैतको दोस्रो साताभरि दिनहुँजसो परेको पानीले डढेलो निभाएपछि अब ढुक्क भएको छौँ ।’ साताभरि छिटफुट पानी परेपछि वनक्षेत्रका पतिङ्गर भिजेर आगो नसल्किएको भन्दै यो वर्ष अब डढेलोको त्रास नभएको ल्हायोको भनाइ छ । फागुनमध्यदेखि वैशाख मध्यसम्म डढेलो देख्ने गरिएको वनक्षेत्र आसपासका बासिन्दाको अनुभव छ ।
फागुन मध्ययता बढेको डढेलोले जिल्लाको बर्दिबास र गौशाला नगर क्षेत्रमा पर्ने सागरनाथ वन विकास परियोजनाको पल्टमा तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलका नयाँ बिरुवा डढाएर खरानी बनाएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । वसन्त ऋतु लागेपछि हुरीबतास चलेसँगै वनमा डढेलो बढ्दा बस्ती आगलागीको चपेटामा पर्दै आएका छन् । जिल्लामा वनसँग जोडिएका २५ भन्दा बढी बस्ती छन् ।
डढेलो वर्षाको पानीले निभेपछि गाउँघरमा वन्यजन्तुको आवागमन पनि पातलिएको बर्दिबास–८ बानटोलका सर्वसाधारण बताउँछन् । वनमा डढेलो बढ्दा नीलगाई, हरिण, दुम्सी र बाँदर बाक्लै बस्ती पस्ने घटना डढेलो निभेसँगै पातलिएको उनीहरुको भनाइ छ ।
वनको डढेलो निभेपछि वन कर्मचारीले पनि राहत महशुस गरेका छन् । पानी पर्नुअघि दिनहुँ डढेलो निभाउन दौडधुप गरिरहनुपरेको अवस्थाबाट राहत पाइएको डिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सन्तोष झाले बताउनुभयो । चैत दोस्रो सातादेखिको वर्षाका कारण डढेलो निभ्नुका साथै वनका पातपतिङ्गर भिजाएको उहाँको भनाय छ । ‘यसअघि हामी डढेलो निभाउँदा निभाउँदै हैरान भएका थियौँ डिभिजन प्रमुख झाले भन्नुभयो- ‘वर्षाअघि विशेष तालिम प्राप्त सुरक्षा टिम परिचालित गरेर डढेलो नियन्त्रणमा लागेका थियौँ । एकातिर निभाउँदा अर्कोतिर डढेलोको खबर आउँथ्यो, हैरान भएका थियौँ, पछिल्लो वर्षाले राहत दिएको छ ।’
वन्यजन्तुको चोरी सिकार, रुख कटान र जताततै डढेलो बढेपछि सुरक्षा अभियानमा विशेष तालिमप्राप्त वन सुरक्षा जवान सम्मिलित टोली कार्यालयले खटाउँदै आएको छ । कार्यालयको विशेष सुरक्षा गस्ती र पछिल्लो वर्षा वन सुरक्षामा उपलब्धिमूलक भएको वन सम्बद्ध कर्मचारी बताउँछन् ।
जिल्लामा पछिल्लो वर्षाले नयाँ बिरुवा हुर्कन निकै मद्दत गरेको छ । केही दिनभित्रमा बिरुवामा नयाँ पालुवा फेरेका रुख लहलहाउने डिभिजन प्रमुख झाको भनाइ छ । उहाँका अनुसार जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कवुलियती र सागरनाथ वन परियोजनाकोसहित २४ हजार हेक्टर क्षेत्रफलमा वन छ । यद्यपि लगातारको राजनीतिक संरक्षित अतिक्रमणले वनक्षेत्र अब १६ हजार हेक्टरमुनि झरेको उहाँले बताउनुभयो ।
पछिल्लो वर्षा खेतीपातीका लागि र बढ्दो गर्मी कम गर्न पनि राहत भएको स्थानीय बताउँछन् । रुखिएको जग्गा खनजोत गर्न वर्षाले सजिलो बनाएको किसान बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव