
खोटाङ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको प्रवेशद्वार अगाडि सवारी साधन बिसौनी (पार्किङस्थल) निर्माणको काम शुरुवात गरिएको छ । कोशी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको २५ लाख रुपैयाँ लगानीमा पार्किङस्थल निर्माण थालिएको हो ।
सरकारी कामकाजमा आउने सर्वसाधारणलाई लक्षित गर्दै पार्किङस्थल निर्माणको काम सुरु गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । ‘हेलिप्याडमा अचानक हेलिकप्टर उडान तथा अवतरण गर्नुपर्ने हुन्छ । अहिलेसम्म हेलिप्याडमा आउने एम्बुलेन्स तथा सवारी साधन जथाभावी पार्किङ गर्ने गरिएको छ’ उहाँले भन्नुभयो– ‘पार्किङस्थल अभावमा जथाभावी पार्किङ गर्दा दुर्घटना हुनसक्छ । त्यसलाई व्यवस्थित गर्न प्रदेश सरकारको सहयोगमा पार्किङस्थल निर्माणको काम शुरु गरिएको हो ।’
पार्किङस्थलको वरिपरि पर्खाल उठाएर मानिस बस्न मिल्ने ठाउँसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभएको छ । निर्माणाधीन पार्किङस्थलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय खोटाङ र मालपोत कार्यालयका सेवाग्राहीले पार्किङ गर्न दिइने जनाइएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पार्किङस्थल नहुँदा समस्या हुँदै आएको छ । पार्किङस्थल नहुँदा सरकारी कामकाजका लागि दिक्तेल बजार आउने सवारी धनीबीच सडक तथा होटल आसपास पार्किङ गर्दै आएका छन् ।
सडक आसपासमा यत्रतत्र सवारी साधन पार्किङ गर्नाले आवतजावतमा असहज हुने गरेको पाइएको छ । दिक्तेलमा निर्माण गरिएका दुईवटा उपयोगविहीन भइरहेको अवस्थामा जिल्ला समन्वय समितिले निर्माण शुरु गरेको हेलिप्याड सपोटिङ पार्किङस्थललाई निकै महत्वका साथ हेरिएको छ ।
बजार क्षेत्रमा पार्किङ हटाउने उद्देश्यका साथ दिक्तेल रुपकोट मझुवागढी नगरपालिका–२ सोल्मा र सोही नगरपालिकाको वडा नम्बर १ आचार्यगाउँमा दुईवटा बसपार्क निर्माण गरिएका छन् । सात वर्षअघि निर्माण गरिएका दुवै बसपार्क अहिलेसम्म उपयोगविहीन रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
बसपार्कमा सवारी साधन पार्किङका लागि लैजान प्रहरी प्रशासनले आग्रह गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारी साधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै पार्किङ गर्न गत माघ २३ गते निर्देशन दिएको थियो ।
प्रशासनको निर्देशनविपरीत सडक आसपास र बजार क्षेत्रमा सवारी साधन पार्किङ गरेको खण्डमा कानुनबमोजिम कारबाही हुने जनाएको थियो । तर, अहिलेसम्म प्रशासनले एउटा पनि सवारी साधनलाई कारबाही गरेको छैन ।
विसं २०७३ मा बनेका दिक्तेलस्थित आचार्यगाउँ र सोल्मा बसपार्क उपयोगविहीन राखेर बजार क्षेत्रमा सवारी पार्किङ गर्दा समस्या भएको जनाउँदै स्थानीय बासिन्दाको विरोधपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले गत माघ–२३ गते सर्वपक्षीय बैठक बोलाउनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले जिल्लामा सञ्चालित सबै साना तथा ठूला सवारी साधन पार्किङका लागि अनिवार्य बसपार्क लैजाने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव