
दिपायल । यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ ।
जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथा मसला उद्योग प्रालिले अल्लो प्रशोधन तथा यसको कपडा बुन्ने एकमहिने तालिम सञ्चालन गरेपछि महिला यस कार्यमा जुटेका हुन् । उक्त गाउँपालिका–४ काउलेबजारमा पालिकाको उद्यम विकास शाखाको अर्थिक सहयोग तथा जिआइजेडको प्राविधिक सहयोगमा गाउँपालिकाले करिब रु २० लाख लगानीमा अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादनमा सहयोग तथा तालिम दिएको थियो ।
अल्लो प्रशोधनका लागि उपकरण र कपडा बुन्ने तानलगायत सामग्री बडीकेदार गाउँपालिकाले उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादन गर्न थालिएको उद्यम विकास शाखा प्रमुख भूपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । यहाँका १५ जना महिला मिलेर अल्लो प्रशोधन तथा कपडा बन्नमा जुटेका उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष भैरव साउदले पछिल्लो समय अल्लोको धागो र कपडाको माग उच्च रहेकाले पालिकाले आवश्यक सहयोग गरेको बताउनुभयो । अल्लोको कपडाबाट कोट, टोपी, झोला, जुत्तालगायतका सामग्री निर्माण गर्ने तालिम सञ्चालन गरी यस कार्यमा लाग्न सहजीकरण गरिएको उहाँले बताउनुुभयो ।
गाउँपालिकाका उपाध्यक्ष डम्बरी विष्ट कलेलले अल्लोको व्यावसायिक उत्पादन गरी बजार विस्तार गर्नुपर्ने बताउनुभयो । यस व्यवसायलाई पूर्णकालीन बनाउँदै उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म विस्तार गर्नुपर्ने उहाँको भनाइ छ ।
गाउँमै अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन हुन थालेपछि स्थानीय उद्यमीको आम्दानीको आधार बन्न थालेको उद्यमी तुल्सी बुढामगरले बताउनुुभयो । उहाँले यस कार्यको दीगो व्यवस्थापनका लागि आफूहरू जुटेको र यसमा सरोकार भएका निकायले पनि थप प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ । “आवश्यक तालिम र उपकरण पाएपछि हामी १५ जना महिला यसमा जुटेका छौँ । स्थानीय स्रोतको उपयोग गरी हाम्रो आम्दानीको स्रोत पनि बनेको छ । यसको दीगो व्यवस्थानका लागि सरोकार भएका निकायले थप सहयोग र बजार विस्तारका लागि सहजीकरण गरिदिने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध