
लेखनाथ सिकारू
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ‘देशभर निराशा र उकुसमुकुसको अवस्था छ यस्तो बेला प्रमुख तीन दलहरु भने कुरा एउटा र काम अर्को गर्ने गरेको आरोप लगाउनु भएको छ ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस एवम् लेनिन जयन्तीको अवसरमा आज पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रले जन अपेक्षा अनुरुप काम नगरेको धारणा राख्नुभयो ।
यत्रो शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको भन्दै उहाँले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्नुभयो । ठीक निरोजस्तै, ‘शासकमाथि देखिएको विरोधलाई प्रतिवाद गर्न अब पनि ‘आइलभयू केपी बा’ भन्ने कार्यक्रम तय गरिन्छ रे त्यो लोकतन्त्रमा आक्रमण गर्ने नेताबाट हिसाब माग्नु पर्ने बेला हो, महिमा गाउने होइन।’ भूसालले भन्नुभयो ।
‘लोकतन्त्रमा पार लगाउने पार्टीले नै हो । अनि पार्टी कस्तो छ भन्दा एमाले छ । एमाले कस्तो छ भन्दा कमरेड ओलीजस्तो छ । अरुको कुरा सुन्दैन, जनताको पर्वाह गर्दैन’, उहाँले भन्नुभयो, ‘सारा संकटले देश डुब्दैछ, ओलीलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर केपी बा भन्दिउन् भन्ने छ । त्यो तहमा पुग्ने नेता यो देशका लागि दुर्भाग्य होइन ?’
‘कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो ।’ उहाँले भन्नुभयो, ‘आइ लभ यू केपी बा होइन, कम्रेड केपी हाम्रो हिसाब देऊ, क्रान्तिको हिसाब देऊ, आन्दोलनको हिसाब देऊ, पार्टी विघटनको, संसद विघटनको, लोकतन्त्रमाथि यो तहको आक्रमणको हिसाबकिताब देऊ भन्नु पर्ने हो ।’
केपी ओली जहाँ गयो त्यहीँ उनीविरुद्ध नारा लाग्न थालेको भन्दै भुसालले यो तहको उकुसमुकुस निराशाको अवस्था रहेको मौकामा पुनरुत्थानवादी र अराजक तत्त्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गर्नुभयो ।
‘मान्छे अलिकति आक्रोशमा आयो भने जोसुकैलाई भत्काइदिन्छु बाख्राको खोर पनि भन्ने स्थिति छ, ग्राउन्ड त्यस्तो छ । यो आक्रोशलाई भजाउनका लागि पुनरुत्थानवादीहरू, अराजकहरू उठाउन लाग्या छन्,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा यो ठाउँबाट पार लगाउने भनेको पार्टीले हो । तर पार्टी कस्तो छ भने एमाले जस्तो । यो अवस्था हुनु देशको दुर्भाग्य हो ।
भुसालले लहडका भरमा संविधान संशोधन भए देश बहुआयामिक द्वन्द्वमा फस्न सक्ने समेत चेतावनी दिनुभएको छ । शासकको लहडमा संविधान संशोधन हुने हो भने देश बहुआयामिक द्वन्द्वमा फस्नेवाला छ । कसैले धर्म निरपेक्षताको नाममा, कसैले निर्वाचन प्रणालीको नाममा, कसैले शासकीय स्वरूपको नाममा त कसैले समावेशीको नाममा संविधान च्यात्नेवाला छन्’, चेतावनी दिँदै उहाँले भन्नुभयो ।
भुसालले समाजवादी क्रान्तिका लागि उच्च तहको बौद्धिकता र दृढता आवश्यक रहेको बताउनुभयो । जतिसुकै आलोचना भएपनि पुँजीवादीले लेनिनमाथि यी दुई कुरामा कसैले प्रश्न नउठाएको उहाँको धारणा छ ।
पार्टी उपाध्यक्ष जयन्ती राईको अध्यक्षता तथा सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको विचार गोष्ठिलाई पार्टीका सम्मानित नेतासहित वरिष्ठ नेता डा.बेदुराम भुसाल र महासचिव घनश्याम भूसालले सम्बोधन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध