
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन् ।
सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील यात्रा हो । आरोहणका क्रममा कतिपय आरोहीले ज्यान नै दाउ लाउनुपर्छ । जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँनयाँ कीर्तिमान बनाउने बढिरहेका छन् ।
तीसपटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै सिजनमा तीनपटक सगरमाथा चढेर कीर्तिमान कायम गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका हरिबहादुर बुढासहित विभिन्न कीर्तिमान बनाउनेको सङ्ख्या लामै छ । हिउँचितुवाको उपनामले चर्चित स्वर्गीय आङ्रिता शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको थियो । केही आरोहीले सबैभन्दा छोटो समयमा, सानो उमेरमा सगरमाथा चढेर नयाँ ‘रेकर्ड’ बनाएका छन् भने बिनाअक्सिजन आरोहण गरेर पनि विभिन्न कीर्तिमान कायम गरेका छन् ।
यसै सन्दर्भमा सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा चारपटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यले आरोहणमा निस्कनुभएको छ । ‘बीस दिनभित्र चारपटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाउने मेरो उद्देश्य छ’ उहाँले भन्नुभयो । सन् २०१७ देखि आरोहणमा लाग्नुभएका शेर्पाले सगरमाथा चारपटक आरोहण गरिसक्नुभएको छ । आमादब्लम, चोयु, मकालु तथा चीनको सिसापाङ्मा हिमाल पनि चढ्नुभएको छ ।
सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का २८ वर्षीय टासीले सुरुमा सगरमाथा आरोहण, दोस्रोपटक आमादब्लम आरोहण गर्नुभयो । उहाँका बुबाले सगरमाथा आरोहण गर्नुभएको थियो । बुबाकै प्रेरणाले आरोहणमा नयाँ रेकर्ड बनाउन लागेको उहाँले बताउनुभयो । दावाफुञ्जु शेर्पाले आठ दिनमा तीनपटक सगरमाथामा चढेर कीर्तिमान बनाउनुभएको थियो ।
एटके एक्सपीडिसन कम्पनीमार्फत सगरमाथा आरोहणको नयाँ कीर्तिमान बनाउन त्यसतर्फ लागेको उहाँले बताउनुभयो । टासीले सेभेनसमिट ट्रेक्स र फर्टिन पिक कम्पनीमा व्यावसायिक गाइडका रूपमा काम गर्नुभएको छ । परिवारमा बुबा, श्रीमती एक छोरा एक छोरी हुनुहुन्छ । टासीले सगरमाथाको चारपटक सफल आरोहण गरिसक्नुभएको छ ।
सिनियर आरोहीले सगरमाथामा राखेको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्नेगरी आरोहण यात्रामा लागेको उहाँले उल्लेख गर्नुभयो । नेपाललाई तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी, कामीरितालगायत कीर्तिमानी शेर्पाले विश्वभर परिचित गराउनुभएको छ । आफूमा पनि उहाँहरूले जस्तै सगरमाथामा रेकर्ड राख्ने उद्देश्य रहेको उहाँले बताउनुभयो । टासीले सगरमाथाको रेकर्डपछि नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने अभियानमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आफ्नो सगरमाथा यात्राका क्रममा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकका नागरिकलाई चुचुरोमा पुर्याएको अनुभव सुनाउने टासीले आगामी दिनमा सात महादेशका अग्ला हिमाल चढ्ने योजना बनाउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध