
पाल्पा । नयाँ वर्षको पहिलो दिन सोमबार पाल्पाका पर्यटकीय तथा धार्मिकस्थलमा घुम्न आउनेको घुइँचो लागेको छ ।
तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, तेल्घा, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट रम्भादेवी, वंशगोपाल पार्क, तालपोखरा, कौडेलेक, रिडी, राम्दीलगायत चर्चित पर्यटकीय तथा धार्मिकस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको हो ।
विभिन्न क्षेत्रबाट रमाइलोसँगै पर्यटकीयस्थलको अवलोकन गर्न, घुम्न र यहाँका नदीमा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको स्थानीय बताउँछन् ।
‘पहिला पाल्पाको श्रीनगर आउने इच्छा थियो, त्यो इच्छा बल्ल पूरा भएको छ’ श्रीनगरमा भेटिनुभएका भैरहवाका दीपेन्द्र सुनारले भन्नुभयो । विगतमा कार्यव्यस्तताले घुम्न नपाइएकामा यस वर्ष भने एक सातादेखि समय मिलाएर परिवारसहित यहाँ आएको उहाँको भनाइ छ । ‘नयाँ वर्ष छोराछोरीलाई रमाइलोसँगै हौसला बढाउनका लागि घुम्न आएका हौँ’ सुनारले भन्नुभयो ।
एशियाको ठूलो त्रिशूल रहेको भैरवस्थान मन्दिरमा परिवारसहित घुम्न पुग्नुभएका बुटवलका प्रेम रिजालले परिवारको खुशी र मनोरञ्जन प्रदान गर्न नयाँ वर्षमा समय मिलाएर यहाँ घुम्न आएको बताउनुभयो । ‘अरु समय कार्यालयको काममा व्यस्त भइन्छ, फुर्सद नै मिल्दैन’ उहाँले भन्नुभयो– ‘वर्षको एकपटक नयाँ पर्व पनि भएकाले परिवारलाई समय दिएर खुशी साट्न यहाँ आएका हौँ ।’
नेपालको ताजमहल र प्रेमको प्रतीकका रूपमा चिनिएको रानीमहल क्षेत्रमा पनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । साथीहरूसँग यहाँ पुग्नुभएका बगनासकालीका सुशील बस्यालले नयाँ वर्षका अवसरमा घुम्न आएको बताउँदै रानीमहलबाट आफ्ना साथीहरूलाई सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई यहाँ आउन आग्रह गर्नुभयो ।
‘अघिल्लो वर्षमा भन्दा यस वर्ष आगन्तुकको घुइँचो बढी भएको पाएको छु’ उहाँले भन्नुभयो– ‘घुम्ने संस्कृतिको विकास भएको हो कि भन्ने लागेको छ ।’ नयाँ वर्षको पहिलो दिन सोमबार बिहानैदेखि रानीमहलमा मानिसको चहलपहल बढेको उहाँले बताउनुभयो ।
नयाँ वर्ष मनाउन बढी मात्रामा आन्तरिक पर्यटक यहाँ आएका बस्यालले बताउनुभयो । परिवार, समूह, नवजोडी यहाँका पर्यटकीयस्थल पुग्ने गरेका उहाँको भनाइ छ ।
नयाँ वर्ष मनाउन विभिन्न कार्यक्रम गर्ने, वनभोज खाने र घुम्न आउनेहरूका कारण यहाँका पर्यटकीयस्थको रौनक बेग्लै बनेको स्थानीय बताउँछन् । रुरु क्षेत्रस्थित रिडीमा नुहाउने र ऋषिकेशव दर्शन गर्नेको घुइँचो लागेको छ ।
कालीगण्डकी नदीअन्तर्गत राम्दी, रामपुर भुजातको सिद्धबाबा, सीता कुण्ड, तालपोखरालगायत स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध