
महोत्तरी । तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा जुडशीतल मनाइँदैछ ।
विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ ।
वैशाख सङ्क्रान्तिका दिन शुरु हुने पर्व विधिमा पहिलो दिन चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ । यसैगरी दोस्रो दिन (वैशाख २ गते) घरपरिवारका ज्येष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् ।
मिथिलामा घरका कूलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यस पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कूलदेवता) लाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी गुणकारी सोहिजन (मुन्गा) को तरकारी, चनाको पीठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढीबरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।
नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा सुपाच्य र शरीरलाई स्वस्थ्य राख्ने चना (बदाम) को सातु, दाल, सोहिजनको तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा चलेको मैथिल लोकसंस्कृतिका ज्ञाता पूर्वप्रशासक तथा साहित्यकार जलेश्वरको बखरी बस्तीका बासिन्दा ८७ वर्षीय महेश्वर राय बताउनुहुन्छ ।
सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरूआज मध्याह्न साथीसङ्गीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने तयारीमा छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।
मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा नयाँ वर्ष प्रारम्भसँगै यो वर्षभरि खेतीपातीका लागि अनुकूल समय रहोस् भन्ने पर्वको मुख्य सन्देश रहेको बलवा–१० धमौराका ७० वर्षीय कामेश्वर झा बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध