
भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । सिन्दुर खेल्दै रमाउँदै आज भव्य रूपमा मध्यपुरथिमीका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् ।
अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउँदै आज भव्य रूपमा मध्यपुरथिमीका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् ।
बिस्केट जात्राका अवसरमा मध्यपुरथिमीका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।
थिमीमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । तर केही वर्षयता भने २६ खटमात्र जात्रामा सहभागी हुने गरेका छन् ।
जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । सोमबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा शुरु भएको थियो ।
जात्रा शुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवीदेवताको खट ल्याएर यो जात्रा मनाइएको छ ।
थिमिमा ३२ देवीदेवताका खट सहभागी रथ बोकेर टोलटोल परिक्रमा गराई परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ । यसमा थिमिको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।
जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई केही वर्षयता सिन्दुर जात्रा पनि भन्न थालिएको छ ।
बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणको खट उचालेपछि बालकुमारीको जात्रा शुरु गरिएको छ ।
परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरु देवताका गण बाटो छेकेर बस्ने परम्परा छ । खट जात्रा अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यों परिक्रमा गरी क्रमैसँग सुगां द्यों, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ ।
बिहानै शुरु भएको यो जात्रा मध्याह्नसम्म चल्ने छ । त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध