
काठमाडौँ । कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव दिइएको छ । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिस गरेको हो ।
कर्मचारीको अवकाश उमेर ५८ बाट बढाएर ६० र ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाउन तथा सामाजिक सुरक्षा भत्तामा साढे एक प्रतिशत कर लगाउन सकिने सुझाव दिइएको छ । आयोगले आज आफ्नो प्रतिवेदन बुझाउँदै आगामी पाँच वर्षसम्म कुनै पनि प्रकारका सामाजिक भत्ता बढाउन नहुने सुझाव दिएको छ ।
‘आगामी पाँच वर्ष सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने र तत्पश्चात् मूल्यवृद्धिको आधारमा प्रत्येक दुई वर्षमा मात्र भत्ता वृद्धि गर्ने व्यवस्था गर्न उपयुक्त हुने देखिन्छ’ आयोगको प्रतिवेदनमा भनिएको छ– ‘सबै तलब तथा ज्याला भुक्तानीमा एक दशमलव पाँच प्रतिशत सामाजिक सुरक्षा कर लगाई सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने र अनौपचारिक क्षेत्रका कामदारलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्ने व्यवस्था मिलाइनुपर्छ ।’
सामाजिक सुरक्षा ऐन, २०७५ ले समेटेका बाहेक अन्य कुनै पनि प्रकारका भत्ता बजेटमा घोषणा नगर्न पनि आयोगको सुझाव छ । यस्तै, सबै प्रकारका सामाजिक सुरक्षालाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी सामाजिक सुरक्षा उपलब्धताको एकीकृत तथ्याङ्क तयार गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रदेश र स्थानीय तहले प्रदान गर्ने सामाजिक सुरक्षाको एकीकृत तथ्याङ्क राख्ने, दोहोरो पर्नेगरी सामाजिक सुरक्षा उपलब्ध नगराउने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सबै खालको सामाजिक सुरक्षाको एकीकृत तथ्याङ्क सङ्कलन एवं व्यवस्थापनको जिम्मेवारी दिइनुपर्ने सुझाव आयोगको छ ।
सामाजिक सुरक्षामा हुने कुल खर्च आगामी पाँच वर्ष कूल गार्हस्थ्य उत्पादनको चार प्रतिशत र सङ्घीय सरकारको कुल बजेटको १५ प्रतिशतभन्दा कम रहनेगरी व्यवस्थापन गर्न सरकारलाई सुझाव दिइएको छ । पाँच वर्षमुनिका बालबालिकालाई बालभत्ता हाल २५ जिल्लामा मात्र प्रदान गरिएकामा गरिब घरपरिवारमा उपलब्ध हुनेगरी सबै जिल्लामा विस्तार गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा व्यवस्था वृद्धि गर्न सामाजिक सुरक्षा व्यवसाय र सङ्घसंस्थालाई उत्प्रेरित गर्ने, स्वास्थ्य बिमाको हालसम्मको सिर्जित दायित्व भुक्तानी गर्ने र स्वास्थ्य बिमाको बढ्दो भार सम्बोधन गर्न स्वास्थ्यमा हानी गर्ने सुर्ती, चुरोट, मदिरामा स्वास्थ्य कर लगाएर बिमा कोषमा जम्मा गर्ने व्यवस्था मिलाइनुपर्ने सुझाव छ ।
मेडिकल शिक्षामा सरकारी कलेजरमा विद्यार्थी सङ्ख्याको ७५ प्रतिशतलाई पूर्ण छात्रवृत्ति गर्ने गरिएको विद्यमान व्यवस्थालाई परिमार्जन गरी २५ प्रतिशतलाई पूर्ण छात्रवृत्ति र अर्को २५ प्रतिशतलाई आंशिक छात्रवृत्तिको व्यवस्था ल्याइनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषबाट परिचालित वित्तीय साधनलाई उच्च प्रतिफल दिने आयोजना लक्षित गरी लगानी गर्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध