
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताउनुभएको छ ।
फोरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको बताउनुभयो ।
‘पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । मलाई साथ देऊ भनिराखेका छन्’ राजतन्त्रवादीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसदमा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो ।’
यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उहाँको भनाइ छ । ‘जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ । जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरुका मागलाई यथोचित सम्बोधन गर्नेछौँ’ उहाँले थप्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तरराष्ट्रिय सम्बन्धबा त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताउनुभयो । उहाँले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गर्नुभयो ।
‘हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र संस्कृतिक रुपमा विविधतायुक्त छ । विविधताका बीचमा एकता आवश्यक छ । बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ । राष्ट्रिय र अन्तरराष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ ।’
उहाँले आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा हामीले आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिनुभयो । भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उहाँले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । ‘अन्तर्राष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन । कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । हामी शान्तिका पक्षमा छौँ’ उहाँले भन्नुभयो ।
हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरुले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्नुहुने फोरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल