
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताउनुभएको छ ।
थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले समकक्षीसँगको भेटवार्ता निकै फलदायी भएको र आफू खुशी भएको प्रतिक्रिया दिनुभयो ।
‘छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन्, त्यस्तो भइहालेमा एकापसमा संवाद गरिहाल्ने र तिनलाई टुङ्ग्याउने भन्नेमा यसपटक हामीले एउटा गहिरो समझदारी गरेका छौँ’ सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘यो भेटघाट फलदायी भयो र म खुशी छु, उहाँको कुराकानीबाट उहाँ (मोदी) पनि खुशी हुनुहुन्छ भन्ने मैले पाएको छु ।’
प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचारविमर्श भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘भेटवार्तामा लगानी र व्यापारका क्षेत्र, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, र दोधराचाँदनीमा महाकालीबाट सिँचाइ गर्नेलगायत द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी भए ।’
प्रधानमन्त्री ओलीले नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउने जानकारी दिँदै कार्यक्रममा भारतबाट उच्चस्तरका सहभागिता हुने बताउनुभयो । ‘मोदीजी आउन भ्याउनुहुन्न, यसकारण कि उहाँको पहिले नै त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ, त्यसकारण उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रैस्तरबाट प्रतिनिधित्व हुन्छ’ उहाँले भन्नुभयो
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले सुन्छ भन्ने उहाँहरुलाई विश्वास छ, त्यसकारण आउनुभएको हो, हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरुको कुरा पनि सुन्छ ।’
शिक्षकले राखेका मागका सम्बन्धमा के–कति गर्न सकिन्छ के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गिने विश्वास दिलाउनुभयो । ‘धेरै यसमा उहाँहरुले पनि दुःख नपाए हुन्छ, सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन, किन राख्नु परेको छ र ?’ उहाँले भन्नुभयो– ‘शिक्षकका समस्या टुङ्गिन्छ ।’ सरकारले चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री