
काठमाडौँ । पत्रकारितमा महिलाको अर्थपूर्ण सहभागिताका लागि उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज आयोजित ‘पत्रकार महिलाहरुसँगको छलफल तथा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम’मा सरकारका प्रतिनिधि, सरोकारवाला र पत्रकार महिलाहरुले समाज रुपान्तरण, पेसागत पहिचान निर्माणका लागि पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिको आवश्यकता औँल्याउनुभयो ।
मन्त्रालयका सचिव राधिका अर्यालले खोजमूलक पत्रकारितामा पत्रकार महिलाको सहभागिता बढाउन सुझाव दिनुभयो । उहाँले महिलाको अर्थपूर्ण सहभागिता र सारभूत समानता कायम भए÷नभएको दृष्टिकोणबाट छलफल एवं बहसका कार्यक्रम अघि बढाउन आवश्यक रहेको चर्चा गर्नुभयो ।
‘राजनीति, आर्थिक, जलवायु परिवर्तन र विज्ञान प्रविधि लगायतका क्षेत्रमा पत्रकार महिला कहाँ छौँ ? प्रभाव पार्न सक्ने, पहिचान दिन सक्ने ठाउँमा हाम्रो सहभागिता बढाउनुपर्छ’ उहाँले भन्नुभयो । सचिव अर्यालले पेसागत क्षमता अभिवृद्धिसँगै गुणस्तर कायम गर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले निर्माण गरेका नीति तथा कानुन परिमार्जन हुने क्रममा रहेकाले छलफलबाट उठेका विषय सहयोगी हुने बताउनुभयो ।
अन्तरक्रियामा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले समाज रुपान्तरण र मुलुकको समृद्धिका लागि महिला सशक्तीकरणसँगै पत्रकार महिलाको भूमिकाबारे चर्चा गर्नुभयो । उहाँले महासङ्घले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति कार्यान्वयन गर्ने सञ्चार संस्थालाई पुरस्कृत गर्ने तयारी गरिरहेको समेत उल्लेख गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफू महासङ्घको नेतृत्वमा रहँदा ‘पोलिसी डिपार्चर’ शुरु गरिएको बताउनुभयो । तत्कालीन समयमा महासङ्घले सकारात्मक विभेदको अभ्यासको शुरुवात गरेको स्मरण गर्दै उहाँले त्यही नीतिका कारण नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता बढेको बताउनुभयो । यद्यपि अझै पनि सञ्चारगृहको नेतृत्वमा पत्रकार महिलाको उल्लेख्य सहभागिता नभएको उहाँको भनाइ छ । उहाँले श्रमजीवी पत्रकारसम्बन्धी ऐनको पूर्ण कार्यान्वयनले पत्रकार महिलाका धेरै मुद्दा सम्बोधन हुने धारणा व्यक्त गर्नुभयो ।
सञ्चार मन्त्रालय, सञ्चार महाशाखा प्रमुख एवं सहसचिव गजेन्द्र ठाकुरले सामाजिक क्षेत्रमा खोजमूलक पत्रकारिता जरुरी भएको बताउनुभयो । उहाँले पत्रकारको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले नीति तथा कार्यक्रममार्फत बहस र पैरवीलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले पत्रकार आचारसंहिता तथा पत्रकारिता क्षेत्रमा समसामयिक सवालबारे प्रस्तुतीकरण दिनुभयो ।
त्यसअवसरमा पत्रकार महिलाहरुले द्वन्द्व क्षेत्रमा समाचार सङ्कलनका क्रममा सुरक्षादेखि पत्रकार महासङ्घको नेतृत्व, पारिश्रमिक, कार्यस्थलमा हुने हिंसा र सरकारबाट प्राप्त हुने सहुलियतका विषयमा बहस गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री