
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्यले समितिको काम प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
समितिको आजको बैठकमा सांसदले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको बेरुजु फर्छ्यौट तथा सम्परीक्षण र उजुरी माथिको छानबिन प्रभावकारी हुन नसकेको बताउनुभएको हो ।
सभापति ऋषिकेश पोखरेलले समितिलाई थप प्रभावकारी र नतिजामुखी बनाउन विभिन्न ९ उपसमिति बनाएर काम गरिरहेको बताउनुभयो । महालेखापरीक्षक कार्यालयको प्रतिवेदन माथिको छलफल र समितिमा परेका उजुरीलाई फर्छ्यौट गर्नका लागि उपसमिति गठन गरिएको र हालसम्म समितिबाट भए गरेका कामलाई समावेश गरी प्रतिवेदनको मस्यौदा तयार पारिएको उहाँको भनाइ छ । समितिमा हालसम्म परेका एक सय १४ वटा उजुरी माथि छानबिन हुन सकेको छैन ।
आजको बैठकमा समिति सदस्य जनार्दन शर्माले महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमाथि छलफल हुन नसकेको बताउनुभयो । त्यसैगरी समितिमा परेका उजुरीहरुको प्राथमिकीकरण गरी चाँडै टुङ्गोमा पु¥याइनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद रामकृष्ण यादवले समितिका काम नतिजामुखी हुन नसकेको बताउनुभयो । नियमित बैठक बस्न नसकेको, समितिले दिएका निर्देशन सम्बधित निकायबाट कार्यान्वयन नभएकोलगायतका विषय उहाँले उठाउनुभयो ।
सांसद प्रेमबहादुर आलेले राज्यको सम्पत्ति दुरुपयोग भएको विषयमा लेखा समितिले निष्पक्ष र प्रभावकारी ढङ्गले छानबिन गर्न सक्नुपर्ने बताउनुभयो । डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता विवाद चाँडो टुङ्ग्याउनुपर्ने र गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आर्थिक घोटाला भएको विषयमा पनि छानबिन थाल्नुपर्ने उहाँको भनाइ छ ।
सांसद मनिष झाले समितिका बैठक नियमित बस्नुपर्ने र समितिबाट भएका निर्देशन सम्बन्धित निकायले पालना गरे–नगरेको बारे सोधखोज गरिनुपर्ने बताउनुभयो । समितिका निर्णयको कार्यान्वयन र प्रभावकारिता कति छ भनेर समितिले हेर्न सक्नुपर्ने उहाँको भनाइ छ ।
यसअघि समितिले सिमेन्ट र फलामे डण्डीको मूल्यवृद्धि बारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयन हुन नसकेको बताउनुभयो । एकातर्फ उपभोक्ता पीडित भइरहने र अर्कोतर्फ समितिको निर्देशन समेत पालना नभएको अवस्थामा यसको जवाफ खोजिनुपर्ने उहाँको भनाइ छ ।
सांसद राजेन्द्रकुमार केसीले पनि सिमेन्ट र ड्ण्डीको मूल्य वृद्धि बारे समितिले दिएको निर्देशनको नतिजा शून्य रहेको बताउनुभयो ।
पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको घोटलाको विषयमा लेखा समितिले अध्ययन र छानबिन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग