
काठमाडौँ । संसदहरुले ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा राख्नुभएको हो ।
विद्यमान संविधान विपरीत गतिविधि भइरहेकाबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद महेशकुमार बर्तौलाले संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा समाजमा संविधान विरोधी क्रियाकलाप भइरहेका बताउनुभयो । पूर्वराजा स्वयम्ले यी कार्य गर्नका लागि उक्साइरहेको उहाँको आरोप थियो । लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने सांसद बर्तौलाले बताउनुभयो ।
सांसद अर्जुननरसिंह केसीले सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएको सम्झौता कार्यान्वयन हुन नसक्दा महासङ्घ पुनः आन्दोलनका क्रममा रहेको उल्लेख गर्दै पुनः वार्ता र सहमतिको प्रयास गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन नहुने उहाँले बताउनुभयो । यसलाई बाध्यकारी बनाउँदा ज्येष्ठ नागरिक, अपाङ्ग लगायतलाई समस्या भएको सांसद केसीले बताउनुभयो ।
सांसद रुपा चौधरीले सुदूरपश्चिमका विकट भेगमा नागरिकले सामान्य स्वास्थ्य उपचारसमेत नपाइरहेको बताउनुभयो । यस्तै, अछाममा माटोको ढिस्कामा पुरिएर दुई महिलाको मृत्यु भएको विषय पनि उहाँले संसद्मा उठाउनुभयो ।
सांसद शेरबहादुर कुँवरले पनि अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको विषय उठाउँदै यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।
सांसद हरि ढकालले चितवनको सौराहा क्षेत्र वरिपरि हात्ती आतङ्क बढेको र मानव तथा जङ्गली जीवबीच द्वन्द्व बढेकाले यसलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
सांसद रमा कोइराला पौड्यालले मुलुकभित्रै रोजगारीको अवसर तथा न्यूनतम ज्याला उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सोमबारदेखि राजधानीमा सुरु भएको श्रम तथा रोजगार सम्मेलनमा संसदीय समितिका सभापति र सांसदहरुलाई नबोलाइएको प्रति पनि उहाँले आपत्ति जनाउनुभयो ।
सांसद ईश्वरी घर्तीले नेपालबाट अवैध रुपमा रुसी सेनामा भर्ती हुने क्रम अझै नरोकिएको कुरा संसदमा उठाउनुभयो ।
सांसद सरिता भुसालले आगलागी पीडितलाई स्वास्थ्य उपचारको व्यवस्था गर्न र राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग