
काठमाडौँ । गैरसरकारी संस्थालाई नियमन र सहजीकरण गर्ने कानुनी व्यवस्था गर्न गैरसरकारी संस्था महासङ्घ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।
गैसस महासङ्घद्वारा आज राष्ट्रिय सभागृहमा आयोजित राष्ट्रिय नागरिक सम्मेलनमा महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले गैरसरकारी संस्थाको दर्ता तथा नियमनका लागि चाँडोभन्दा चाँडो स्पष्ट कानुन निर्माणका लागि सरकारसँग आग्रह गर्नुभयो ।
‘व्यक्तिगत रूपले गणतन्त्र आएको थाहा पाएका छौँ । नागरिक सङ्गठनको हिसाबले गणतन्त्र आएको अनुभूति गर्न सकेका छैनौँ’ अध्यक्ष सुवेदीले भन्नुभयो– ‘सङ्गठन चलाउने र भेला हुने संविधानमा व्यवस्था गरिएको मौलिक हकमैत्री कानुनका लागि माग गर्दछु ।’
गैरसरकारी संस्थाले स्थानीय तह र प्रदेशमा संस्था दर्ता गर्नुपर्दा दोहोरोपनादेखि विभिन्न किसिमका कर तिर्न बाध्य भएको गुनासो गर्दै आएका छन् । स्पष्ट कानुनको व्यवस्था नहुँदा दोहोरोपना, अस्पष्टता र झन्झट बेर्होन परेको गुनासो गरिरहेका उनीहरूले यसले सरकारसँग साझेदारी गर्न इच्छुक अन्तरराष्ट्रिय गैसससमेत हतोत्साहित भइरहेको बताउँदै आएको छ ।
सम्मेलनमा महासङ्घका अध्यक्ष सुवेदीले सामाजिक उद्यमशीलतामार्फत समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि वातावरण सृजना गर्न उहाँले सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराउनुभयो । ‘उद्यमशील बन्न चाहन्छौँ, हामी रोजगार सृजना गर्न चाहन्छौँ । उत्पादनमा जोड दिन्छौँ, समृद्धिमा योगदान पुर्याउँछौँ । कमाएको आम्दानीबाट राज्यका प्राथमिकताका सामाजिक क्षेत्रमा काम गर्न चाहन्छौँ’ अध्यक्ष सुवेदीले भन्नुभयो ।
त्यस अवसरमा उपस्थित राजनीतिक दल र विज्ञहरूले नियमित सामाजिक उत्तरदायित्व (सिएसआर) को व्यवस्थापनका लागि सुझाव प्रस्तुत गर्नुभएको थियो ।
पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेलले उद्देश्य र कार्यक्षेत्रअनुसार संस्था दर्ता गर्ने र नियमन गर्ने प्रणाली बसाउन कानुन निर्माणको आवश्यकता औँल्याउनुभयो । त्यसका लागि सामाजिक विकास ऐन र सङ्घसंस्था दर्ता ऐन बनाउन ढिलाइ गर्न नहुने उहाँको सुझाव छ ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहनुभएका पौडेलले गैससले दीर्घकालीन वित्त स्रोतको विकास गर्नतर्फ अग्रसर हुनुपर्ने धारणासमेत व्यक्त गर्नुभयो । ‘आफ्नो स्रोत छैन, दातृ निकायले उपलब्ध गराउने स्रोतमा निर्भर भइरहेका छौँ । दातृ निकायको दानबाट कतिपय अवस्थामा उसको उद्देश्यअनुसार काम धेरै हुन्छ । उद्देश्य मात्र हैन हामीले गर्ने कार्य प्रणाली पनि उनीहरूले नै ‘डिटेक्ट’ गरेअनुसार हुन्छ, यो ठूलो चुनौती हो’ उहाँले भन्नुभयो– ‘सामाजिक उद्यम, व्यवसाय प्रवर्द्धन गर्न जरूरी छ ।’ उहाँले गैससभित्र संस्थागत पारदर्शिता र जवाफदेहिता चुनौतीका रूपमा खडा भइरहेको बताउनुभयो ।
‘देश सङ्घीय व्यवस्थामा गएसँगै गैससको काम र भूमिका परिवर्तन भएको छ । हामी ‘स्टेट’ हैन, ‘स्टेट’लाई सघाउने संस्था हो । नागरिक र सरकारबीचको दूरी बढाउनेभन्दा पनि अविश्वासको दूरी घटाउन सहयोगी बन्नुपर्छ’ पौडेलले भन्नुभयो ।
सम्मेलनमा दिगो विकासका लागि नागरिक समाजको योगदान, दिगोपनाका लागि चुनौती र नीतिगत विकल्पका विषयमा संवाद गरिएको थियो ।
त्यस अवसरमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ ढकालले देशभरका नागरिक संस्थाहरूको नियमनका लागि संस्थागत र कानुनी संरचना प्रबन्ध गर्न सरकारसँग अपिल गर्नुभयो । उहाँले राज्यलाई जवाफदेही, पारदर्शी बनाउन र सहकार्य गर्न सङ्गठित संस्थाहरू स्वयं एकीकृत, आत्मविश्वास र हैसियतका साथ अघि बढ्न आह्वान समेत गर्नुभयो ।
‘तपाईँहरूको आवाज सुनिएको छैन । नागरिक आन्दोलन कमजोर मनस्थितिमा देखिएको छ । यसबाट मुक्त हुनु म आह्वान गर्छु । नेपालमा नागरिक समाजको आन्दोलन वा गैरसरकारी संस्था आन्दोलन बलियो रूपमा खडा हुनुपर्छ’ ढकालले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा महासङ्घको ११औँ महाधिवेशन, ३०औँ वार्षिक साधारणसभा र राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न