
महोत्तरी । मध्यमा परिक्रमाका यात्री जहाँ पुग्छन्, त्यहाँ होलीमय परिवेश बन्छ । नाच्दै, झुम्दै अघि बढेका यात्री होरीगीत र सीताराम नाम सङ्कीर्तनमा मस्त देखिन्छन् । यात्राको आठौँ दिन महोत्तरीको कञ्चनवनमा ‘होरी’ खुलेपछि यात्रा झन् उत्सवमय बनेको छ ।
‘मिथिलामें राम खेलैय होरी हो, मिथिलामें’ यी बोलका गीतसँगै झुमेका यात्री एकआपसमा रङ्गअबिर छ्यापाछ्याप गर्न पछि पर्दैनन् । ‘किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरी !’ (कसको हातमा सुनौलो रङ् छेप्ने पिचकारी छ ? अनि कसको हातमा अबिरको झोला ?) यात्रीमध्येकै एक समूहबाट गीतमै प्रश्न तेर्सिन्छ । अनि अर्को समूहले गीतबाटै जवाफ फर्काउँछ, ‘रामजीके हात कनक पिचकारी, सीयाजीक हात अबिर झोरी’ (रामजीका हातमा सुनौला पिचकारी छ अनि सीताजीका हातमा अबिरको झोला) हो।।, मिथिलामें राम खेलैय होरी हो मिथिलामें ।
फागु गीत आफैँ शृङ्गार रसका हुन्छन्, अनि त्यसमा गवैया (गाउने) को मनमस्तपन मिसिँदा अहिले मिथिला माध्यमिकी परिक्रमाको यात्रा होलीमय बनेको छ । सब नाच्दा छन्, यात्रीले एकआपसमा छ्याछ्याप गरेका रङ्गअबिरले मान्छेमात्र हैन, माटो रङ्गिएको छ । स्वरमा स्वर मिसिएका छन्, लयमा लय, ‘होरी खेले रघुवीरा सीयासँग, होरी खेले रघुवीरा !’
यात्राका सात दिनसम्म भक्तिमा डुब्ने यात्री महोत्तरीको कञ्चनवनमा होलीमहोत्सवमा सरिक भएपछि रङ्गिन बन्छन् । यात्रा अवधिका सबै विधि र व्रत अवलम्बन गरिरहेपनि कञ्चनवनले थपेको होलीमय परिवेशले बाँकी यात्रा नाचगान र रङ्गअबिर खेलिँदै रमाइलोमा बित्ने यात्रीमध्येका महोत्तरीसँगै जोडिएको भारतीय सीमावर्ती गाउँ डिमाहीका हनुमान शरण दास बताउनुहुन्छ ।
फागुन औँसीका दिन सुरु भएर लगातार १५ दिनको यात्राको अठोट । टाउकोमा सामल–खाजा र एकसरो फेरफार लुगाको मोटरी (पोको), वाणीमा जय सीयारामको लय । नाङ्गा खुट्टा, परिचित÷अपरिचित हजारौँ सहयात्री । कल्याण र मोक्षको कामना, १५ दिने मिथिला माध्यमिकी परिक्रमाको अध्यात्मिक यात्रा । यात्रु भन्छन– ‘माथ में मोटरी, मन में सीयाराम !’ (टाउकोमा सामल खाजाको पोका, मनमा सीतारामप्रति श्रद्धा, भक्ति र समर्पणको भाव) । आठौँ दिनपछि होलीको रमाइलो । गुञ्जदै होरीगीत, रङ्गिदै माटो ।
यात्रामा महोत्तरीको कञ्चनवनमा विहारकै क्रममा श्रीराम र सीताजीले रङ्ग, अबिर खेलेका विश्वासमा यात्री एकआपसमा रङ्ग, अबिर खेलेर फागु पर्व मनाउने गर्छन् । वसन्तपञ्चमीका दिनदेखि फागु पर्वको शुरुवात मानिएपनि मैथिल परम्परामा कञ्चनवनमा रङ्ग, अबिर खेलेपछि नै फागु विधिवत शुरु हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग