
पाल्पा । बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उहाँको बाध्यता हो ।
झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुङ्गा, बालुवा र माटोको काममा नै उहाँको समय बित्ने गर्छ । दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहानबेलुकाको गर्जो टार्दै आएको उहाँले बताउनुभयो । तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा उठाउँदै गरेको अवस्थामा भेटिनुभएकी कुमालले भन्नुभयो- ‘महिला दिवस हामीजस्ता दुःखीका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात । यो त राम्रो कमाउने र रमाउनेका लागि हो ।’
यस्तै डुम्रेकी रमिता विकको पनि उस्तै समस्या छ । तानसेनमा तरकारी र फलफूल बेचेरै उहाँले दैनिकी गुजारिरहनुभएको छ । ‘बिहानै गाउँमा गई तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि म डोको बोकेर निस्कन्छु’ शनिबार नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो– ‘दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी नै हो ।’
तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आउनुभएकी घोरबण्डाकी ४९ वर्षीया मीना कुमाल सधैँजस्तै शनिबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किनुभयो । कुमाल तानसेनका किराना पसलमा भारी बोक्ने काम गर्नुहुन्छ । ‘भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ’ कुमालले भन्नुभयो ।
यस्तै, तानसेन अर्चेलेकी सुमित्रा पुन पनि तानसेनमै ज्याला मजदुरी गर्दै आउनुभएको छ । कैलाशनगरमा बारी खन्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले अन्तरराष्ट्रिय महिला दिवसबारे सुन्नुभएका छैन । ‘हामीलाई त कामबारे मात्रै थाहा छ’ उहाँले भन्नुभयो । महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आउनुभएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउनुहुन्छ । दिवसका बारेमा आफूलाई पूर्ण रूपमा जानकारी नभएको भन्दै उहाँ भन्नुहुन्छ– ‘महिला दिवसमा सबैले मीठो मसिना खाने र रमाइलो गरेर मनाउँछन् होला, खै हाम्रो त कमाइ केही छैन, के खानु के रमाउनु ? एक दिन काम नगरे साँझ चुलोे बल्दैन ।’
जिल्लामा सयौँ महिला मजदुर दैनिक मजदुरी गर्दै आएका छन् । शनिबार देशैभर विभिन्न कार्यक्रम गरी एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइरहँदा जिल्लाका अधिकांश मजदूरी गर्ने महिलालाई भने यसले छोएन ।
श्रमिक महिला सधैँजस्तै भारी बोकिरहेका छन् । एक दिन काम नगर्दा उनीहरूलाई हातमुख जोर्न मुस्किल पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग