
लमजुङ । पूर्व–पश्चिम पुष्पलाल लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट खत्रिठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण रोकिएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा कूल ४५ किमी सडकमध्ये क्याम्पस गेटबाट खत्रीठाँटीसम्म दुई किमी र भोर्लेटार रानीपानी चोकबाट मिदिम खोला पुलसम्म एक हजार सात सय मिटर सडक स्थानीयको अवरोधका कारण रोकिएको हो ।
मध्यपहाडी लोकमार्ग योजना कार्यालय, पालुङटार गोरखाका अनुसार लामो समयदेखि सडकलाई स्तरवृद्धि गर्दै स्तरोन्नति गर्ने योजनासहित निर्माण अघि बढाइएको थियो । केही स्थानीयले मुआब्जा, सडकको चौडाइ र सम्भावित असरको विषय उठाउँदै सडक निर्माणमा अवरोध पु¥याएका छन् ।
स्थानीयका अनुसार सडक विस्तार गर्दा आफ्नो घरजग्गामा असर पर्ने भएकाले उचित क्षतिपूर्ति दिनुपर्ने माग राखिएको हो। केही स्थानीयले सडकको डिजाइन परिवर्तन गर्नुपर्ने मागसमेत अघि सारेका छन् । ‘हामी विकासको विरोधी होइनौँ, तर उचित प्रक्रिया अपनाइनुपर्छ’ सुन्दरबजारका रामप्रसाद पण्डितले भन्नुभयो ।
सुन्दरबजार बजार क्षेत्रका स्थानीयले श्रीचन्द्र लामिछानेको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर सडक निर्माणको विरुद्ध सर्वोच्च आदालतसम्म मुद्दा दायर गरिएको उहाँले बताउनुभयो । ‘मुद्दा दायर भएको दुई वर्ष वितिसक्दा पनि सर्वोच्चले कुनै आदेश गरेको छैन’ उहाँले भन्नुभयो ।
यता स्थानीय भने सर्वोच्चको आदेशपछि सडक निर्माण गर्न दिने बताउँदै आएका छन् । ठेकेदार कम्पनीको सडक निर्माणको म्याद दुई महिना मात्रै बाँकी छ । स्थानीयको अवरोध भइरहँदा सडक निर्माण अलपत्र परेपछि धुलो र धुँवाले आफूहरूले सास्ती भोग्नु परेको स्थानीय राजु न्यौपानेले बताउनुभयो ।
मध्यपहाडी लोकमार्ग योजना कार्यालयका प्रमुख ईश्वरबहादुर रिजालले केही स्थानीयको अवरोधका कारण सडक निर्माण अन्योलमा परेको बताउनुभयो । स्थानीयको अवरोध नहुने हो भने हप्ता दिनमा काम सुरु गरेर दुई महिनाभित्र सम्पन्न गर्नसक्ने गरी आफूहरू तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।
स्थानीयको विवाद समाधान नहुँदासम्म सडक निर्माण अगाडि नबढ्ने योजना कार्यालय पालुङ्टारले जनाएको छ । स्थानीयको विवाद समाधान गर्ने प्रमुख दायित्व स्थानीय तह, समाजसेवी, स्थानीय सर्वदलीय प्रतिनिधि भएकाले सबै बसेर छलफलमार्फत समाधान खोज्नुपर्नेमा प्रमुख रिजालले जोड दिनुभयो ।
सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले सडक निर्माणमा अवरोध हुन नहुने बताउँदै समस्या समाधानको पहल भइरहेको बताउनुभयो । ‘सडक निर्माण नगरिँदा सबै नागरिकले सास्ती खेप्नुपरेको छ । स्थानीय बासिन्दाको जायज माग सम्बोधन गर्दै काम अघि बढाउन पहल गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।
नगरप्रमुख कोइरालाका अनुसार सम्बन्धित पक्षबीच छलफल भइरहेको छ । स्थानीय प्रशासन, नगरपालिकाका पदाधिकारी, सडक डिभिजन कार्यालय र प्रभावित स्थानीयबीच सहमति जुटाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुन्दरबजारका बासिन्दाले यथाशीघ्र सडक निर्माण सुचारु गर्न माग गरेका छन् । लामो समयदेखि अस्तव्यस्त सडकको अवस्था सुधार्न ढिलाइ नगरियोस् भन्ने स्थानीय माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग