+

तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

महोत्तरी । चिस्यानघर निर्माण हुने आशामा बसेका बर्दिबास नगरक्षेत्रका किसान निराश भएका छन् । 


६ वर्षअघि निर्माण शुरु गरिएको चिस्यानघर ३ वर्षदेखि स्थगित छ । ‘चिस्यानघर बन्ने आशा थियो’ बर्दिबास–९ का सुरजसिंह कुशवाहाले भन्नुभयो– तर निर्माण रोकिएपछि आश मयो ।’ विसं २०७५ मा शुरु भएको चिस्यानघर निर्माण नगरपालिकाले प्राथमिकतामा नराख्दा सम्पन्न नभएको कुशवाहा बताउनुहुन्छ ।

विसं २०७५ मा नगरपालिकाले चिस्यानघर निर्माण शुरु गरेको थियो ।  विसं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले चासो नदेखाएको किसानको गुनासो छ । बर्दिबास–२, ६ र ८ को मध्यमा ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्र चिस्यानघर निर्माण शुरु गरिएको हो। 

कूल २२ करोड रुपैयाँ अनुमानित लागतमा बन्न थालेको चिस्यानघर ३ हजार मेट्रिक टन कृषि उत्पादन सुरक्षण गर्ने क्षमताको हुने लागत अनुमानमा उल्लेख छ । ‘अहिले हाम्रा फसलले मूल्य पाएका छैनन्’ बर्दिबास–१२ बिजलपुराका किसान रामविलास सिंह भन्नुहुन्छ– ‘चिस्यानघर बनेको भए गत साउनमा पाकेको आँप हामी अहिले बजारमा पु¥याएर राम्रो मूल्य लिनसक्ने थियौँ ।’

बन्न थालेको काम किन अड्क्यो भन्ने सर्वसाधारणको चिन्ता जायज नभएको नगर प्रमुख प्रल्हाद क्षत्री बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘यो ठूलो रकमको महत्वाकाङ्क्षी योजना भएकाले पछिल्ला दिनमा आवश्यक बजेट अभावमा निर्माण अघि बढाउन नसकिएको हो ।’ क्षत्रीले सङ्घीय र प्रदेश सरकारबाट चिस्यानघर निर्माणमा सहयोग जुट्नासाथ काम अघि बढाउने बताउनुभयो ।

चिस्यानघरको बाहिरी संरचना निर्माण भइसकेको छ । हालसम्म ६ करोड रुपैयाँ खर्च भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगरपालिकाले मेयर कृषि कार्यक्रम सञ्चालनका लागि छुट्याएको बर्दिवास–२, ६ र ८ नम्बर वडामा पर्ने एउटै प्लटमा ८४ बिघा जग्गा छ । त्यो जग्गाभित्र चिस्यानघर निर्माण थालिएको हो ।

बर्दिबास कृषि कार्यक्रमअन्तर्गतको ‘मोडल एग्रो भिलेज’ नमूना कृषिस्थल बनाइने नगरपालिकाले जनाएको छ । यहाँबाट अभिलेखीय प्रणालीको कृषि व्यवस्थित गरिने जनाइएको छ । 

‘बर्दिबास कृषि कार्यक्रममा हामी नगरका सबै किसानलाई समेट्छौँ’ नगरप्रमुख क्षत्री भन्नुहुन्छ– ‘कुन किसानले कुन बाली कति क्षेत्रफलमा लगाउँदैछन् ? यो कति उत्पादन हुनसक्छ ? यसकोे अभिलेख खडा गरेर उत्पादित फसलको बजार समेत पक्का गर्ने कार्यक्रमको उद्देश्य हो ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट