
गण्डकी । यसपालीको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महशुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ ।
गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई पिरलो थपिएको बताउनुभयो । ‘हिउँ नपर्दा स्याउ खेतीमा असर पुग्छ, रोककिराको प्रकोप बढ्न सक्छ’ उहाँले भन्नुभयो– ‘मुस्ताङमा लगाइने उवा, जौँ, गहुँ, लसुन, आलु लगायत बालीको उब्जाउ क्षमता पनि घट्छ ।’
मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने उहाँको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर हिमाली भेगमा परेको विभिन्न अध्ययनले देखाएको छ । मौसमी घटना र प्रवृत्तिमा यस्तै क्रम दोहोरीरहे हिमाली क्षेत्रमा नयाँ खेतीबालीको प्रवेश हुने र रैथाने उत्पादन लोप हुने खतरा रहेको बताइन्छ । पछिल्लो समय मुस्ताङको उपल्लो भेगमा समेत काँक्रा, गोलभेँडा जस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको किसान बताउँछन् ।
समयमा हिउँ र वर्षा नहुँदा खेतीबाली नसप्रने किसानको दुःखेसो छ । मुस्ताङमा हावा मात्र चल्ने हिउँ नपर्ने अवस्था देखिएको छ । गत वर्षको हिउँद पनि हिउँ र वर्षा नभई बितेको थियो । हिउँ नपर्दा सिँचाइ नभएका ठाउँमा अन्नपात माटोमै सुक्ने गरेको कृषि अधिकृत नेपालीले बताउनुभयो । घरपझोङ गाउँपालिका–२ मार्फाका स्याउ किसान दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने बताउनुभयो । स्याउको फूल खेल्न र फल लाग्न चिसोपनाको खाँचो पर्छ ।
‘चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ’ उहाँले भन्नुभयो– ‘मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिहाल्नुपर्ने छैन ।’ जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने सुक्खा मौसमले चिन्ता थपिदिएको उहाँको भनाइ छ । थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षात् नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ ।
लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताउनुभयो । हिउँमा खुल्ने मुस्ताङ, मनाङ, म्याग्दी लगायत पर्यटकीयस्थल पनि उजाड देखिएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी जुलीले पुनले अहिलेसम्म हिउँ नपरेको बताउनुभयो । गण्डकी प्रदेशका कुनै हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुन सकेको छैन । हिउँ र वर्षा नहुँदा मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको छ । बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्ने गरेको छ ।
बाह्रैमास नहर र कूलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने कृषि अधिकृत नेपालीले बताउनुभयो । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उहाँको भनाइ छ । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने गरेको छ । हिउँ नपर्दा पर्यटक लोभ्याउने हिमाल पनि कालापत्थरजस्ता देखिन थालेका छन् ।
विश्वव्यापी रूपमा गहिरिँदो जलवायु सङ्कटको सबैभन्दा ठूलो मार नेपालका हिमालमा परेको सो क्षेत्रका विज्ञ र अध्येताहरू बताउँछन् । पर्यावरणीय अध्येता कुलचन्द्र अर्यालका अनुसार जलवायु सङ्कटको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र पर्छ । ‘विश्वको औषत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ’ उहाँ भन्नुहुन्छ– ‘विश्वको औषत तापमान १ दशमलब ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दशमलव ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने गरेको अध्ययनले देखाएको छ ।’
जलवायु परिर्वतन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको पर्यावरणीय अध्यता अर्यालको भनाइ छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमालय क्षेत्रमा हिमगलन बढ्नुका साथै नयाँ हिमताल थपिने, विस्तार हुने र विष्फोटन हुने दर बढीरहेको उहाँले बताउनुभयो । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमाल कालापत्थरमा परिणत हुने बताइन्छ ।
विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै