
काठमाडौँ । नेपाल–चीन सांस्कृतिक तथा परम्परागत मित्रतालाई उजागर गर्ने उद्देश्यले आइतबार काठमाडौँको दरबार हाइस्कूलमा छोटो तथा लामो वृत्तचित्र प्रदर्शन गरिएको छ ।
चाइना मिडिया ग्रुप (सीएमजी) ले तयार पारेका यी वृत्तचित्रमा नेपालको सीमा क्षेत्रमा अवस्थित तिब्बत अर्थात् सिचाङ स्वशासित क्षेत्रका तिब्बती भिक्षुहरूको दैनिकी, जीवनशैली, नेपाल–चीन हिमाली क्षेत्रको पर्यावरण, तिब्बती आली प्रिफेक्चर र नेपालका हुम्लालगायत सीमावर्ती जिल्लाबीचको सीमा व्यापार, सिचाङमा आधुनिक कृषि प्रणालीको उन्नयनलगायत अहिले तीव्र गतिमा विकसित भइरहेको एआई प्रविधिको सहयोगमा निर्मित नेपाल–चीन सम्पदा संवाद र चिनियाँ नव वर्ष गालासम्बन्धी मनोरञ्जनात्मक सामग्री रहेका छन् ।
रानीपोखरीस्थित दरबार हाइस्कूल २०७२ को भूकम्पमा ध्वस्त भएपछि चीन सरकारकै सहयोगमा पुनःनिर्माण गरिएको हो । चीनको शाङ्हाई कन्स्ट्रक्सनले ठेक्का पाएको यो चार तले स्कुलमा ४० कक्षा कोठा रहेका छन् । ‘विद्यालय भवन आफैँमा नेपाल चीन मित्रताको पर्याय हुँदै हो, त्यसमाथि आपसी मैत्री आयाम समेटिएका वृत्तचित्र देखाइँदा विद्यार्थीमा अन्तरदेशीय जानकारी हासिल गर्न सहज र प्रभावकारी भयो’ विद्यालयका शिक्षक निश्चल अधिकारी भन्नुहुन्छ ।
अब नेपाल चीन सम्बन्धमा अग्ला हिमालको तगारो नरहेको बताउँदै सीएमजी नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालले विज्ञान प्रविधिको तीव्र विकासले विश्व बुझ्न धेरै सहयोग पुगेको बताउनुभयो । नेपाल चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिको लगायत मूर्त अमूर्त सांस्कृतिक र जनस्तरीय आदानप्रदानका प्रामाणिक लिखत र चिन्ह रहेकाले अन्तर्देशीय सम्बन्ध छर्लङ्ग रहेको उहाँको भनाइ छ ।
प्रदर्शित भिडियोमध्ये चीन र नेपालका सङ्ग्रहालयको संवाद एआई प्रविधिको सहयोगमा बनाइएको छ । जसमा चिनियाँ र नेपाली मुकुण्डोले एक अर्काका पुराना परम्परा र इतिहास एवं मिल्दाजुल्दा पक्षबारे जानकारी दिएको छ । अर्को छोटो भिडियामा नेपाल र चीनबीचको बुद्ध धार्मिक ऐतिहासिक मित्रताको सङ्केत गर्न चीनको मोकाउ गुफा र नेपालको बौद्धनाथबीच संवाद गराइएको छ ।
त्यस्तै नेपालको एकसिङ्गे गैँडा र चीनको पाण्डा, चिनियाँ र नेपाली चियाबीचको सभ्यता र इतिहास झल्काउने विषयवस्तुका साथै हजार वर्ष अगाडिको सिल्क रोडको पुनः स्मरण गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को गैर–भौतिक सांस्कृतिक सम्पदामा सूचिकृत भएपछिको चिनियाँ नव वर्ष स्प्रिङ फेस्टिभल विश्व चासोको विषय बनेको छ ।
यसै सन्दर्भमा अघिल्लो वर्षको वसन्त चाड गाला प्रदर्शन गरिएको थियो । प्रदर्शित नव वर्ष गालामा चिनियाँ नवाचार, वैज्ञानिक तथा प्राविधिक चमत्कार, कुङ्फु कलालगायत परम्परागत चिनियाँ शैलीका सामग्रीले गहिरो छाप पारेको भिडियो हेरेका बालबालिकाले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै