
तनहुँ । प्रसिद्ध देवघाटमा जारी ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि शुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ ।
धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देशविदेशका श्रद्धालु भक्तजनको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्नुभएको थियो । महामहोत्सवमा दैनिक भक्तजनको उपस्थिति बढ्दै गएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘शनिबार देशका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।’ विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक सु–प्रसिद्ध कथावाचक ईश्वरकृष्ण महाराजको सत्सङ्कल्पमा महामहोत्सव सञ्चालन भइरहेको छ ।
महोत्सवको प्रमुख आकर्षणमा अखण्ड हरिनाम सङ्कीर्तन, १०८ श्रीमद्भागवत पाठ, एक लाख २५ हजार श्रीफल हवन, एक लाख शीलापुजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन र पूजन तथा ३३ कोटी दीप प्रज्वलनजस्ता धार्मिक गतिविधि रहेका छन् ।
देशविदेशका ख्यातिप्राप्त कथा वाचकले महोत्सवलाई थप विशेष बनाइरहेका छन् । विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डे, देवी प्रतिभा, पूज्या यशोदा माता र युवा कथावाचक ओमप्रकाश सुवेदीले प्रवचनद्वारा श्रद्धालुलाई आध्यात्मिक ज्ञान प्रदान भइरहेको आयोजकको भनाइ छ ।
भक्तजनहरूको सुविधाका लागि उत्कृष्ट व्यवस्थापन गरिएको छ । करिब १० हजार व्यक्तिको दैनिक भोजन र आवासको निःशुल्क व्यवस्था गरिएको छ भने २० हजारभन्दा बढी व्यक्तिलाई समेट्नसक्ने तीन भव्य पण्डाल निर्माण गरिएको छ । शुद्ध पानी, शौचालय, प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको छ भने वृद्धवृद्धा तथा अशक्त व्यक्तिका लागि यातायातको विशेष व्यवस्था गरिएको छ । सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालित गरिएको छ ।
महामहोत्सवमा सङ्कलित रकम तनहुँको देवघाटमा निर्माणाधीन मातापिता सेवा आश्रममा खर्च गरिनेछ । उक्त आश्रममा तीन सय ६५ कोठा रहनेछन् । आश्रम निर्माणका लागि हालसम्म जमिन प्राप्तिलगायतका कार्य पनि सम्पन्न भइसकेका छन् भने एक सय २० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
वृद्धवृद्धाका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ आश्रम निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजजीको सत्सङ्कल्प र नेतृत्वमा निर्माणाधीन मातापिता सेवा आश्रमले धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ ।
यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महामहोत्सवका सङ्कल्पकर्ता ईश्वरकृष्ण महाराजले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु