
चितवन । सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् ।
स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन् ।
सौराहा क्षेत्रमा अहिले मकुना नामको जङ्गली हात्ती बस्ती पसेर स्थानीयलाई दुःख दिँदै आएको छ । योसँगै रोनाल्डो नामको हात्ती पनि हात्ती प्रजनन केन्द्र हुँदै बस्तीमा आउने गरेको छ । जङ्गली हात्तीले पोथी हात्ती खोज्दै बस्ती आउने क्रम बढेपछि स्थानीयले व्यवस्थापनका लागि माग गरेका हुन् ।
स्थानीयले सामुदायिक वन, मध्यवर्ती सामुदायिक वन, निकुञ्ज वा बस्तीभन्दा पर कुनै खाली ठाउँमा सबै हात्ती एकै ठाउँमा राख्न माग गरेका हुन् । निकुञ्ज प्रशासन, स्थानीय प्रशासन, हात्ती व्यवसायी र स्थानीयले यस विषयमा छलफल थालेका छन् ।
रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले स्थानीयको मागअनुसार निकुञ्ज प्रशासनसँग छलफल भएको बताउनुभयो । सम्बन्धित वडाका अध्यक्षहरूले यस विषयमा नगरप्रमुखसँग पनि छलफल गरिरहनुभएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यस विषयमा सरोकार भएका निकाय र स्थानीयबीच छलफल भइरहेको छ । एकीकृत रूपमा वन नजिक निजी हात्ती राखेमा जङ्गली हात्तीले कम दुःख दिने सबैको सुझाव छ ।’
सौराहामा ४५ वटा निजी हात्ती छन् । तीमध्ये ३० वटा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाअन्तर्गत रहेका छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले आफूहरू स्थानीयको मागअनुसार काम गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘निजी जग्गामा राख्दा वरिपरि घर हुन्छन् । सामुदायिक वा मध्यवर्ती वन क्षेत्रका खाली ठाउँ पाए हामी एकीकृत गरेर हात्ती राख्न तयार छौँ ।’ सधैँका लागि एकीकृत गरेर हात्ती राख्ने ठाउँ पाए आवश्यक संरचना आफूहरूले बनाउने उहाँको भनाइ छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले निकुञ्ज प्रशासन स्थानीयको मागप्रति गम्भीर रहेको बताउनुभयो । निजी हात्तीलाई एकीकृत गरेर राख्न केही समयका लागि सोर क्षेत्रमा बासस्थानको व्यवस्थापन गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । दीर्घकालीन वा अल्पकालीन रूपमा हात्ती राख्नका लागि विभागसँग अनुमति लिनुपर्ने भएकाले लिखित रूपमा माग राख्न भनिएको उहाँले जानकारी दिनुभयो ।
जङ्गली हात्तीले बस्ती पसेर धनजनको क्षति पुर्याउने, स्थानीय र पर्यटकलाई त्रसित बनाउने गर्दै आएका छन् । जाडो महिना शुरु भएसँगै हात्ती बस्ती पस्न थालेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री