
सुर्खेत । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २० करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले बजेट सुनिश्चित गरेको हो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रहमा अर्थले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व शहरी विकासमन्त्री धनबहादुर बुढाले जानकारी दिनुभएको छ । लामो समयदेखि बजेट अभावले रोकिएको करिडोर निर्माणले अब गति लिने पूर्वमन्त्री बुढाले बताउनुभयो । भेरी करिडोर सडक दुई सय १७ किलोमिटर हुने जनाइएको छ । त्यसमध्ये जाजरकोट–डोल्पा सदरमुकाम दुनैसम्म एक सय १८ किलोमिटर छ । हाल जाजरकोटबाट तल्लुसम्मको ६२ किलोमिटर खण्डमा स्तरोन्नति भइरहेको छ । अब तल्लुबाट दुनै सम्मको बाँकी ५६ किलोमिटर सडकमध्ये तल्लु–त्रिपुराकोटसम्मको ४२ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो ।
बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको त्यो खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिनुभयो । पूर्वमन्त्री बुढाका अनुसार केही दिनमा पुल निर्माणका लागिसमेत बजेट सुनिश्चित गर्ने तयारी भइरहेको छ । हाल बेलिब्रिज भएको स्थानमा पक्की पुल निर्माण गर्ने आयोजनाको लक्ष्य छ ।
त्रिदेशीय सडकको रूपमा विकास गर्ने लक्ष्य लिइएको भेरी करिडोरको दुनै–लासिक्याप खण्डको काम निर्माण व्यवसायीले ढिलाइ गर्दा लक्ष्यअनुसार उपलब्धि नहुने सम्भावना बढेको छ । ठेक्काको म्याद सकिन एक वर्ष बाँकी हुँदा पनि १५ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ । सडक खण्ड निर्माण गर्न सूर्य–श्रेया–शान्तिदेवी जेभी काठमाडौँले १३ करोड ४२ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
लासिक्यापबाट मरिमसम्मको सडक नेपाली सेनाले निर्माण गर्ने तयारीका साथ सेनाले रक्षा मन्त्रालयबाट भौतिक मन्त्रालयमा अनुमतिका लागि पत्र पठाइसकेको छ । कर्णेल विश्वबन्धु पहाडीको नेतृत्वमा रहेको नेपाली सेनाले भेरी करिडोर अन्तर्गत जाजरकोट सदरमुकामदेखि डोल्पाको सदरमुकाम दुनैसम्म सडक ट्र्याक खोल्ने काम विसं २०६५ मा शुरु गरेको थियो । दुनैबाट चीनको सिमानासम्म रहेको मरिम नाकासम्मको कूल एक सय किलोमिटरमध्ये नेपालतर्फ ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।
भेरी करिडोरको जाजरकोट–डोल्पा सडक खण्डको पुल निर्माणको ठेक्का क्याराभान हिराचन जेभीले लिए पनि काम शुरु गरेको छैन । जेभीले विसं २०७७ माघ २ गते जाजरकोटको नलगाड खोला, झुम्रेखोलामा पुल निर्माणको ठेक्का लिएको थियो । त्यस्तै सोही कम्पनीले २०७७ माघ २ मै मैदेखोला, त्रात्र खोला, ताक्सुगाडमा पुल निर्माणको ठेक्का लिएको थियो । ठेक्का लिने तर काम नगर्नाले भेरी करिडोरमा पक्की पुल निर्माण हुनसकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री