
नवलपुर । देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त हुनुहुन्छ । दुई वर्षअघि दुई घारबाट मौरीपालन शुरु गर्नुभएका उहाँको हाल २८ घार मौरी रहेका छन् ।
यस वर्ष मात्र खड्काले दुईपटक गरी करिब चार सय केजी मह उत्पादन गर्नुभएको छ । अहिले तोरी फुलेको समय भएकाले चाँडो चाँडो मह तयार हुने उहाँको भनाइ छ । यसबाट खड्काले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
स्थानीय बजारमा मह प्रतिकिलोग्राम सात सय रुपैयाँमा बिक्री हुने गरेको छ । थोरै लगानी र थोरै श्रमबाट पनि राम्रो आम्दानी लिन सकिने हुँदा किसानका लागि मौरीपालन व्यवसाय उत्तम भएको उहाँको अनुभव छ । ‘धेरै लगानी गर्नु पनि नपर्ने, मेहनेत पनि थोरै गरे पुग्ने । आम्दानी राम्रो नै हुने रहेछ’ खड्काले भन्नुभयो– ‘मौरीपालन स्वास्थ्य र आम्दानी दुवै हिसाबले ठीक छ ।’
देवचुलीकै जसमती रानाले समेत मौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले छ वर्षअघि दुई घारबाट शुरु गर्नुभएकामा हाल आठ घारमा मौरी पालिरहनुभएको छ । आफूले वर्षको तीन सय केजीसम्म मह उत्पादन गरी बिक्री गर्ने गरेको रानाले बताउनुभयो । फुर्सदको समय सदुपयोग होला भनेर थोरै मात्रमा मौरीपालन गरे पनि यसबाट भएको आम्दानीले घर खर्च चलाउन सहज भइरहेको उहाँको भनाइ छ । बिक्रीका लागि बजार सुनिश्चित हुने हो भने थप मौरीको पालन गरी राम्रो आम्दानी लिन सकिने रानाले बताउनुभयो ।
नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले हाल सबैजसो किसानले मह काढ्ने काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार चरनको राम्रो व्यवस्थापन गर्नेले कात्तिकदेखि र घरमै घार राख्नेले मङ्सिरको अन्तिम साताबाट मह काढ्न थालेका छन् । घरमै घार राख्नेहरूले सामान्यता एक वर्षमा तीनदेखि चार पटकसम्म र बाहिर लगेर मौरीको चरन व्यवस्थापन गर्नेले वर्षमा ६ देखि ८ पटकसम्म मह निकाल्ने गरेका छन् ।
नवलपुरको देवचुली, कावासोती, गैँडाकोटमा यस्ता किसान क्रमिक रूपमा बढ्दै गएका छन् । पहाडी क्षेत्रका पालिकामा भने व्यावसायिक रूपमा मौरीपालन अघि बढ्न नसकेको महासङ्घ अध्यक्ष कँडेलले बताउनुभयो । व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानलाई व्यावसायिक किट विकास केन्द्र बन्दीपुरले सहयोग गर्दै आएको छ ।
किसानले मौरीको चरनका लागि पश्चिममा दाङ र पूर्वमा चितवनसम्म मौरी लैजाने गरेको छन् तर यस व्यवसायमा विषादीको प्रयोग चुनौतीका रूपमा रहेको छ । ‘तोरी भएको स्थानमा चरनका लागि लैजाँदा कतिपयले तोरीमा क्षति पुग्छ भन्ने गलत धारणाले गर्दा विषादीको प्रयोग गर्ने गर्छन्, यसले समस्या उत्पन्न हुने गर्छ’ अध्यक्ष कँडेलले भन्नुभयो ।
तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य समयमा भने चरनका लागि समस्या हुने गरेको मौरीपालक किसानको भनाइ छ । फूल फुल्ने रैथाने बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको उहाँहरूले जनाकारी दिनुभयो ।
नेपाल मौरीपालक महासङ्घका अनुसार नवलपुरमा यस वर्ष करिब ७० टन मह उत्पादन हुने अनुमान रहेको छ । महको प्रकृति हेरी सात सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएको मह स्थानीय बजारबाट खपत हुने गरेको र थप बजारको खोजी र व्यवस्थापनका लागि महासङ्घबाट समेत पहल भइरहेको जनाइएको छ ।
महको प्रयोग स्वास्थ्यका लागि लाभप्रद मानिन्छ । पछिल्लो समय मह सेवन स्वास्थ्यका लागि लाभदायक रहेको भन्ने जनमानसमा पर्दै गएकाले महको बजार विस्तार हुँदै गएको महासङ्घका अध्यक्ष कँडेलले बताउनुभयो । मह जम्ने विषय उपभोक्ताको बुझाइमा फरक पर्दा समेत केही समस्या भएको उहाँको भनाइ छ । तोरी, चिउरीको मह जम्ने र जमेको मह शुद्ध हुने जानकारहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री