
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको विगत ७ बर्षदेखि काम अलपत्र छ ।
निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् । पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदले बताउनुभयो । “बर्खामा खोला निकै आउँछ । बिरामी तथा विद्यार्थीलाई ओहोरदोहार गर्नै समस्या हुन्छ”, उहाँले भन्नुभयो, “पुल नहुँदा ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्छ ।”
ठेकेदार कम्पनीको लापर्वाहीले अहिलेसम्म पुल निर्माण हुन नसकेको अर्का स्थानीय दिलबहादुर खत्रीले बताउनुभयो । “सुविधासम्पन्न बाटो तथा पुल नहुँदा कोही बिरामी परे पनि लैजान गाह्रो हुन्छ । एम्बुलेन्स आउन मान्दैन”, उहाँले भन्नुभयो, “समयमै अस्पताल पु¥याउन नसक्दा कतिपयले बाटोमै ज्यान पनि गुमाएका छन् ।” ओदाल खोलामा पुल नहुँदा स्थानीय अहिले खोलाकै धुलाम्य कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत सो क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् ।
“पुल निर्माण हुने भनेको यत्रो समय बितिसक्दा पनि अहिलेसम्म बनेको छैन”, स्थानीय गणेश रावतले भन्नुभयो, “हामी पीडामा छौँ । अब त पुल निर्माण हुन्छ भन्ने आशा पनि मरिसक्यो ।” विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले रु पाँच करोड ४७ लाखमा ओदाल खोलाको पुल निर्माणको ठेक्का पाएको थियो । सुरुआतमा विसं २०७४ फागुन १५ गते पुल निर्माण गरिसक्नुपर्ने अवधि थियो । तर पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म पूल तयार हुन सकेको छैन । पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत ३० गते काम सक्नुपर्ने भए पनि अझै निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिनुभयो ।
“पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “निर्माणमा लापर्वाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ ।” उहाँका अनुसार पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का छोड्न परिपत्र गर्ने तयारीसमेत भइरहेको छ । पुलको निर्माण गर्नुपर्ने दुई वटा स्पानमध्ये एउटा मात्रै निर्माण सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै