
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीका स्थानीय महिलाहरूले लघुउद्यम गरेर आम्दानी गर्न थालेका छन् । स्थानीय नौ महिलाको समूहले गाउँघरमै लघुउद्यम गरेर फुर्सदको समयमा थोरै भए पनि आम्दानी गर्न शुरु गरेका हुन् ।
हरिवन नगरपालिका–५ वडा कार्यालयले महिला सशक्तिकरणको लागि छुट्याइएको बजेटबाट लिएको तालिमले अहिले उद्यमी व्यवसायी बनाएको आमा शक्ति महिला लघुउद्यमी समूहकी अध्यक्ष शिलाकुमारी महतोले बताउनुभयो ।
‘हामी आमाहरू मिलेर समूह बनाएका छौँ’ उहाँले भन्नुभयो– ‘आमाहरूको लागि अत्यआवश्यक सरफ (डिटरजेन्ट पाउडर) बनाउन शुरु गरेका छौँ ।’ महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित दुई वर्षअघि वडा कार्यालयले सञ्चालन गरेको तालिममा सहभागी स्थानीय महिलाजनले जनही ५ हजार रुपैयाँका दरले रकम जम्मा गरेर समूह दर्ता गरेका हुन् ।
शुरुमा हातले बनाएर प्याक गर्ने र आफैँले प्रयोग गर्ने गरेको समूहकी कोषाध्यक्ष सजनी स्याङ्तानले बताउनुभयो । यसरी व्यावसायिक हुन नसक्ने देखेपछि फेरि सदस्यहरूले २५÷२५ हजार रुपैयाँ थपेर र नपुग रकम ऋण लिएर मेसिन किनेको उहाँको भनाइ छ । मेसिनको सहायताले धेरै छिटो र सजिलै धेरै सरफ उत्पादन गर्न सकेको उहाँले बताउनुभयो ।
समूहले उत्पादन गरेको सरफ प्याक गरेर आफैँले बजारसम्म पु¥याउने गरेको छ । बजारमा माग कम रहेकाले अहिले १५ दिनमा दुई पटक उत्पादन गर्ने र अन्य दिनमा बजारमा प्रचारप्रसार गर्ने गरेको अध्यक्ष महतोले बताउनुभयो । ‘उत्पादन गर्ने दिन सबै सदस्य बिहान घरधन्दा सकेर कारखानामा उपस्थित हुन्छौँ’ उहाँले भन्नुभयो, ‘‘काम बाँडफाँट गरेर कसैले तयारी पाउडर प्याकेटमा हाल्ने, कसैले जोख्ने, कसैले प्याक गर्ने र कसैले बोरामा प्याक गरेर राख्ने गर्छौँ ।’
सीप सिकेर उद्यमी व्यवसायी बनेपछि तरकारी, सामान्य खर्चको लागि श्रीमान्को मुख ताक्नुपर्ने बाध्यता हटेको उहाँहरूको भनाइ छ । स्थानीय तहले दिने तालिम लिएर सदुपयोग गर्न सके स्वरोजगार बन्न समेत सहयोग पुग्ने उहाँहरूको अनुभव छ । यस समूहले उत्पादन गरेको सरफ उक्त वडाले सुत्केरी पोषण प्याकेज कार्यक्रममा वितरण गर्ने गरिएको छ । नगरका ११ वटै वडाका सुत्केरीलाई वितरण गरिने पोषण प्याकेजमा स्थानीय उत्पादन समावेश गरिदिए आफूहरुले बजार खोज्न धाउनुपर्ने समस्यासमेत समाधान हुने कोषाध्यक्ष स्याङ्तानले बताउनुभयो ।
समूहकी अध्यक्ष महतोले बजारमा अत्यधिक प्रतिस्पर्धा रहेको र स्थानीय उत्पादन भनेपछि नाक खुम्च्याउने प्रचलनले समस्या भएको बताउनुभयो । ‘हामी लघुउद्यमीसँग ठूलो लगानी छैन्’ उहाँले भन्नुभयो, ‘‘थोरै कच्चापदार्थ लिँदा महङ्गो पर्छ । उपकरणको प्रयोग गर्न नसकेका कारण लागत पनि केही बढी हुन्छ । स्थानीयस्तरमा उत्पादन गरेको भनेपछि उपभोक्ता किन्न हिच्किचाउने गर्दा बजारमा केही समस्या भए पनि निराश नभइ उत्पादन गरिरहेका छौँ ।’ बजारमा पाइने अन्य सरफभन्दा पनि गुणस्तरको सरफ उत्पादन गरेको अध्यक्ष महतोले दाबी गर्नुभयो ।
स्थानीय तथा नगरवासीले पनि स्थानीय उत्पादन खोजीखोजी प्रयोग गरेर साना धरेलु तथा लघु उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ । समूहले सामान बेचेको नाफासमेत लगानी गरेर अहिले आठ लाख रुपैयाँ बराबरको पुँजी विस्तार गरेको जनाएको छ । अढाइ क्वीन्टल क्षमताको मिक्सचर मेसिन, एक थान तौल मेसिन र एक थान प्याकेट बन्द गर्ने हिटर मेसिनको प्रयोगबाट उहाँहरुले सरफ उत्पादन गरिरहनुभएको छ ।
बजारबाट माग आएमा दैनिक २५ क्विन्टलसम्म सरफ उत्पादन र प्याकिङ गर्ने उपकरण र जनशक्ति आफूहरुसँग मौज्दात रहेको अध्यक्ष महतोले बताउनुभयो ।
यहाँ उत्पादित सरफ प्रतिकिलो होलसेलमा ८० रुपैयाँ र खुद्रामा सय रुपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ । अहिले महिनाको चारदेखि पाँच क्विन्टलसम्म सरफ उत्पादन गरेर बजारमा पुर्याउने गरेको समूहले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव