
झापा । दुग्धजन्य उत्पादन घ्यूको बिक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा मौज्दात रहन गएको छ । घ्यू बिक्री नभएपछि व्यवसायीहरुले नौनी घ्यू भारत र बङ्गलादेश निकासीको वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।
कोशी प्रदेशका दुई ठूला डेरी उद्योग रितिका र एनएमसी डेरी उद्योगले आफ्नो चिस्यान केन्द्रमा रु ५० हजार केजी नौनी घ्यू जम्मा भएको जनाएका छन् । व्यवसायीहरुका अनुसार बिगत नौ महिनादेखि घ्यूको बिक्री घटेको छ । जसले गर्दा किसानले बेलैमा दुधको भुक्तानी उद्योगबाट पाउन छाडेका छन् भने दूधको मूल्य पनि घटेको छ ।
दूधको बिक्रीमा समस्या आएपछि कोशी प्रदेश डेरी एशोसिएशनले प्रदेशभर कच्चा दूधको मूल्यप्रति लिटर रु १० का दरले घटाएको छ । डेरी उद्योगले सातामा कम्तीमा एक दिन ‘मिल्क होलिडे’को माग गरेका छन् । यसको सोझो असर दूध उत्पादन किसानलाई परेको छ ।
“उत्पादन बढेको बढ्यै छ तर बिक्री भने घटेको छ । बिक्री घटेपछि यहाँका डेरी उद्योग सङ्कटमा परेका छन्”, नेपाल डेरी एशोसिएशनका केन्द्रीय उपाध्यक्ष राजन चिमरियाले भन्नुभयो, “भारत र बङ्गलादेशमा निकासीको वातावरण बनाइयोस् भनेर हामीले सरकारलाई दबाब दिइरहेका छौँ ।” भारत र बङ्गलादेशमा नेपालमा उत्पादित दूध, नौनी घ्यू र छुर्पीको बजार राम्रो भएको जनाउँदै उपाध्यक्ष चिमरियाले सरकारले अनुदान दिएर भए पनि दुग्धजन्य उत्पादनलाई विदेश निकासीको बाटो खोल्नुपर्नेमा जोड दिनुभयो ।
बिगतमा भारतमा दुध र छुर्पी निर्यात हुने गरेको थियो । कोशी प्रदेश सरकारबाट घ्यू, पाउडर दूध र छुर्पीको विदेश निकासीका लागि घाटापूर्ति अनुदान दिने प्रतिबद्धता आएको र सो प्रतिबद्धता कार्यान्वयनमा आए डेरी उद्योगको हालको समस्या समाधान हुने उहाँको भनाइ छ ।
चिमरियाले झापाको मेचीनगर–१२ मा सञ्चालन गरेको रितिका डेरी उद्योगमा मात्रै हाल ३० हजार केजी नौनी घ्यू थुप्रिएको छ । उहाँको डेरीमा हाल २२ हजार लिटर कच्चा दुध दैनिक खपत हुने गरेको छ । सङ्कलित कच्चा दुधलाई प्रशोधन गरेर प्याकेटमा बिक्री गरिँदै आइएको छ । दूधबाहेक नौनी र खारेको घ्यू, छुर्पी, पनिर र मिठाइ उत्पादन गरी उद्योगले बजारमा लैजाँदै आएको उहाँले बताउनुभयो ।
बिक्री घट्दा किसानहरुलाई दिइने दूधको नियमित भुक्तानीमा समेत असर परेको छ । रितिका डेरीले बिगतमा आधा महिनामै किसानको भुक्तानी गर्दै आएकोमा हाल एक महिनादेखि भुक्तानी गर्न सकिरहेको छैन । किसानहरुको रु पाँच करोड भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै