
डा शोभाकर पराजुली
काठमाडौँ ।
बसन्त–शरदावेव सर्वनास करावुभौ ।
तस्मात तत्र प्रकतम्बम् चण्डिका पूजनम् बुधैः ।।
वर्षा सकिएर हाम्रो माटो ओभाउन थालेसँगै यतिबेला नेपालीका घरआँगनमा दशेँको उल्लास छरिइसकेको छ । मौसम नै एक प्रकारले दशेँको भावमा सुगन्धित हुन थालेको छ । देशको सबैभन्दा ठूलो यो पर्वले फेरि एकपटक सम्पूर्ण नेपालीलाई एउटा आत्मियताको मालामा गाँसेको आभाष छाएको छ ।
वसन्त अनि वर्षा ऋतु र शारदीय मौसमको आरम्भसँगै एउटा भव्य सांस्कृतिक सुगन्ध छाउँछ दशेँको । यो श्लोकमा दशैँको सांस्कृतिक, प्राकृतिक अनि मानवीय संस्कारको एउटा आदिम साइनो गाँसिएको छ । यसको अर्थ हुन्छ, वसन्त अनि वर्षायामसँगै शारदीय मौसम शुरु भएसँगै चण्डीपाठ गर्दा त्यो बीचमा भएका अनि आउँदा सङ्कट पनि सबै नाश भएर जान्छन् भन्ने मान्यता हो ।
दशेँको सांस्कृतिक पक्ष अर्थात यो पर्वमा हुने पूजाआजा त्यही मान्यताका आधारशीला हुन् । हिन्दूकुश हिमालय पर्वतको काखमा अवस्थित नेपाल राज्य स्थापनाका आफ्नै वैदिक अनि परम्परागत मान्यता छन् । उसै पनि अध्यात्मिक पवित्र भूमिका रुपमा चिनिने नेपाल राज्यमा सनातनदेखि नै दशेँको परम्परा शुरु भएको देखिन्छ । नेपालको इतिहासमा लिच्छविकालको शुरुवातदेखि नै यस्ता वैदिक सनातन संस्कार प्रचलनमा आएको देखिन्छ । यहाँको आदिमानव सभ्यतामा वैष्णव, शैव, शात्तललगायत धर्ममा गरिने देवीको पूजाआजाको धार्मिक परम्परा नै दशैँका रुपमा स्थापित हुँदै गएको पाइन्छ ।
यद्यपि, यसका अनेक किंवन्दती छन् । यसका वैदिक अनि धार्मिक मान्यता छन् र यसका आ–आफ्नै मौलिकता छन् । धर्म अनि परम्पराबाट अलि परबाट हामीले यसलाई महसुस ग¥र्यौं भने दशेँ एउटा सामाजिक उत्सव पनि हो । जहाँ नेपाली समाजको विविधताबीच एकता पनि झल्किन्छ । अनेक विविधताले भरिएको नेपालमा हरेक पर्व मनाउने सबैका आ–आफ्नै तरिका छन् । संस्कार अनि परम्परा छन् । तथापि हरेक पर्व अनि उत्सवले दिने सन्देशमा भने तात्विक अन्तर देखिन्छ ।
अर्थात हरेक पर्वले सामाजिक र सांस्कृतिकसँगै एउटा मानवीय सन्देश पनि दिइरहेका हुन्छन् । जो अन्ततः मानव जाति र प्रकृतिको चक्रसँग गाँसिएको हुन्छ । दशेँ पनि त्यस्तै हो । दसैंँ मान्ने तरिका फरक छन्, कसैले टीका लगाउँछन्, कसैले रातो लगाउँछन् त कसैले सेता, कसैले कालो । कसैले मासु खान्छन् कसैले खाँदैनन् । कसैले कस्तो वेष धारण गर्छन्, कसैले कस्तो । जसले जे नाम वा जसरी मनाए पनि दशैँको महिमा अनि महत्व पनि एउटै हो । यो मानवजाति र प्रकृतिको अन्य सम्बन्ध र पारस्परिक परिचक्रसँग जोडिएको छ । यसको अन्तिम लक्ष्य भनेको मान्छे र प्रकृतिको आदिम साइनो पनि हो, जसको चक्रमा यो सिङ्गो ब्रह्माण्डको अस्तित्व अनादिकालदेखि नै रहिआएको छ ।
धार्मिक किंवदन्तीअनुसार देवीले दैत्यहरूको नाश वा बध गरेपछि त्यसलाई उत्सवका रुपमा मनाउने क्रममा दशैँ स्थापित भएको मानिन्छ । त्यसैलाई विजयादशमी पनि भन्ने गरिन्छ । अनि कतिपय शास्त्रमा रामले देवीको पूजा गरेपछि रावणमाथि विजय प्राप्त गरेका मान्यताहरू स्थापित छन् ।
हिन्दू परम्परामा मानिँदै आएका कोटीकोटी देवीदेवता वा भगवानमध्ये दशैँमा खासगरी शक्तिपीठ अर्थात देवीको पूजा हुन्छ । त्यो भनेको दसैंँ असत्यमाथि सत्यको विजयोत्सवका रुपमा पनि लिइन्छ । यस अर्थमा दशैँलाई शक्ति उपासनाको पर्वका रुपमा लिन सकिन्छ ।
््
हिन्दू शास्त्रमा यसका आ–आफ्नै विधि र प्रक्रिया छन् । जस्तो कि विजयादशमीका बेला हामीले लगाउने टीका, जमरा अनि आर्शीर्वादका पनि आफ्नै मान्यता र अर्थ छन् । यसका वैज्ञानिक व्याख्यातिर नजाने हो भने यी दसैंँका यी सबै अवयवहरूमा मानव सभ्यताका गहिरा अर्थहरू गाँसिएका छन् । जस्तो कि– दसँैंका बेला आफूभन्दा ठूला, मान्यजन अनि अग्रज आफन्त दशैँमा टीका लगाउँदा यसरी आर्शीर्वाद दिने चलन छ–
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वयं नहुषे गतिश्च पवने मानंच दुर्योधने ।।
सौर्य शान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुते ।
विज्ञानं विदेरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यसमा अष्ठ चिरञ्जीविको जस्तो दीर्घायू, राजा दशरथको जस्तो धन सम्पत्ति, रामचन्द्रको जस्तो शत्रु नाश गर्ने शक्ति, भीष्मका पराक्रम अनि कृष्णका दाजु बलरामको शक्ति, युधिष्ठिरको सत्यवादिता, विदूरको ज्ञान–विज्ञान अनि नारायणको अविनाश कीर्तिको सन्देश गाँसिएको छ ।
खासगरी पुरुषलाई दिइने यस्तो आशीर्वादमा मात्रै धर्म वा किंवदन्ती छैनन् । बरु यसमा ज्ञान–विज्ञानका कुरा पनि गाँसिएका छन् । यसरी दसैंँ र यसलाई मनाउने तरिका अनि परम्परामा विज्ञान पनि मिसिएको छ । हामीले दशैँका बेला अपनाउने कतिपय संस्कार वैज्ञानिक पनि छन् । यी अनुसन्धानले पनि प्रमाणित गरेका कुरा हुन् ।
जयन्ती मङगला काली भद्रकाली कपालिनी ।
दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा नमस्तुते ।।
महिलाका लागि टीका, जमरासँगै दिइने यो आशीर्वादको अझ गहिरो अर्थ लाग्छ । यो भनेको हाम्रा सृष्टिका हरेक नारीहरूको सम्मान हो । अर्थात् नारीलाई देवीशक्तिका रुपमा पूजा गर्ने हाम्रो सनातन परम्पराअनुसार नारीलाई देवीकै अवतारका रुपमा लिइन्छ । यसरी दसैंँले मानव सभ्यता र यसको सृष्टीलाई धर्मका माध्यमद्वार बलियो गरी बाँधेको हुन्छ ।
अर्को हिसाबबाट हेर्ने हो भने दशैँका सामाजिक अनि आर्थिक शास्त्र पनि छन् । वर्षायामभरि खेतीपाती सकेर यो समयमा हरेक किसानले आनन्दपूर्वक दशैँ मनाउने गर्छन् । टाढा टाढा रहेका आफन्त अनि परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर खुसी र आत्मियता साट्ने यो पर्वको आफ्नै सामाजिक मान्यता पनि छन् । यसबेला बजार पनि चलायमान हुन्छ । नयाँ नयाँ सामान भित्र्याउने अनि किनमेलका लागि यो पर्वले राज्यको अर्थबजारलाई पनि गतिशील बनाइरहेको हुन्छ ।
तसर्थ, दशैँ आफैँमा धार्मिक पर्व त हो नै, त्यसका लागि सामाजिक अनि आर्थिक हिसाबले पनि दशेँ एउटा परिवार, समाज मात्रै नभइ सिङ्गो राष्ट्रका लागि पनि महत्वपूर्व अवसर मानिन्छ । योसँगै शुरु हुने तिहार अनि छठपर्वले पनि एकअर्को समुदायलाई धार्मिक र आत्मिक गाथामा बाँधेको हुन्छ । यसबाट हाम्रो सनातन समाजको सहिष्णुता र मिलाप दर्साउँछ । त्यसमा पनि नेपाल आफैँमा एउटा बहुधार्मिक अनि बहुसांस्कृतिक समाज मिलेर बनेको एउटा सार्वभौम र स्वायत्त राष्ट्र हो । त्यसैले पनि यहाँका परम्परा अनि संस्कृतिहरूको पहिचान विश्व माझमै अलग प्रकारको छ ।
जे होस् अनेक संस्कृतिले भरिपूर्ण हाम्रो देशमा यस्ता हरेक पर्वले सामाजिक सद्भाव, भ्रातृत्व अनि हरेक समुदाय र समाजलाई प्रेमिल बनाउन सघाइरहेका हुन्छन् । त्यसैले पनि नेपाली समाज आफैँमा सभ्यता र संस्कृतिको विराट भूमि पनि हो । दशैँ, तिहार र छठ पर्वको यो पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा दीर्घायू, उन्नति अनि समृद्धिको शुभकामना ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव