
बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा परेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको बिहुँ–घोडाबाँधे खण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा परेको हो ।
लोकमार्ग कालोपत्रेका लागि २०७२ माघमा जिम्मा पाएको एमपी/एससीएफ/इसिसी जेभीलाई वर्षौँसम्म काम नगरेपछि कालोसूचीमा राखिएको हो । ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि ८ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्रिकामा सूचना प्रकाशन गरी त्यो निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार समयमै काम नगर्ने निर्माण कम्पनी/व्यवसायीलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने प्रावधान छ । त्यहीअनुसार लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनीलाई अधिकतम ३ वर्षका लागि कालोसूचीमा राखिएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले जानकारी दिनुभएको छ ।
काठेखोला गाउँपालिकाको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक भारत पश्चिम बङ्गालको एमपी सितानी एण्ड सन्स, सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा, काठमाडौँले संयुक्तरुपमा ठेक्का लिएका थिए । हालसम्म त्यो सडकको ७४ प्रतिशत प्रगति भएको इञ्जिनियर सुवेदीको भनाई छ ।
२०७५ साल माघमा सक्नुपर्ने सडकको काम पाँच पटकसम्म म्याद थप गरिएको थियो । २०८० साल असार ५ गतेसम्म काम नगरेपछि लोकमार्ग कार्यालयले गएको असार १० गते ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न सार्वजनिक कार्यालयलाई खरिद अनुगमन पत्र पठाएको इञ्जिनियर सुवेदीले बताउनुभयो । त्यस खण्डमा ५ किलोमिटर मात्र कालोपत्र गरिएको छ । ७ किलोमिटर कालोपत्र गर्न अझै बाँकी रहेको उहाँको भनाई छ ।
‘लोकमार्गको यो खण्डमा लामो समयसम्म काम भएन, विभिन्न बहानामा निर्माण कम्पनीले काम गरेन, पाँच पटकसम्म म्याद पनि थपियो । काम नगरेपछि कालोसूचीमा राखिएको हो’ इञ्जिनियर सुवेदीले भन्नुभयो– ‘नयाँ ठेक्काका लागि प्रक्रिया अगाडि बढाइएको छ । बजेटको व्यवस्था भएलगत्तै काम शुरुहुन्छ ।’ लोकमार्ग कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु र स्थानीय आजित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग
- सभामुख घिमिरे र सांसद सिंहबीच नोकझोक, रेष्टमबाटै भनाभन
- सिङ्गापुरविरुद्ध नेपालको शानदार जित
- फेरी भाँचियो तामाकोसीमा निर्माणाधिन पक्की पुल
- सुनको मूल्य बढ्यो, चाँदी घट्यो
- प्रतिनिधिसभा बैठकमा रास्वपाद्वारा आज पनि वेल घेराउ र नाराबाजी
- वर्ल्डलिङ्कका सीईओलाई प्रश्न : ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो