
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर प्रत्येक वडाका टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ ।
पनौती नगरका १२ वटै वडामा एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो । पनौती–७ ढोकाफल पाटीमा आयोजित कार्यक्रममा पनौतीका नगरप्रमुख रामशरण भण्डारी र वडाध्यक्ष सविनकुमार ताम्राकारले ज्येष्ठ नागरिकलाई बिरामी पुर्जा दिएर कार्यक्रमको सुरुआत गरिएको थियो । कार्यक्रममा भण्डारीले ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरूको स्वास्थ्य स्याहारमा परिवार, समुदाय र नगरको जिम्मेवारी रहने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्करूपमा गरिने भएकाले प्रत्येक ज्येष्ठ नागरिकले परिवारको सहयोगमा स्वास्थ्य बीमासमेत गर्न अनुरोध गर्नुभयो ।
‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण घरघरमा तथा टोलटोलमा’ भन्ने नीति तथा कार्यक्रमअन्तर्गत प्रारम्भ भएको यस कार्यक्रमअन्तर्गत मङ्गलबार पनौती स्वास्थ्य चौकीले ६२ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै ल्याब परीक्षण गरेको छ । यस्तै बल्थली स्वास्थ्य चौकीले ३३, मल्पी स्वास्थ्य चौकीले ३३ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । कार्यक्रम पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
नगर स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले कार्यक्रम सबै वडामा प्रारम्भ भइसकेको र ज्येष्ठ नागरिकले सेवा लिँदा खुसी पाइएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा तीन चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो । यस वर्षको कार्यक्रममा आवश्यकतानुसार थप औषधिको समेत व्यवस्था गरिएको तिमल्सिनाले बताउनुभयो ।
शाखाका अनुसार नगरले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणसँगै प्रत्येक महिना दुईपटक मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ । महिनाको पहिलो शनिबार कुशादेवी र दोस्रो शनिबार पनौती स्वास्थ्य चौकीमा यो क्लिनिक सञ्चालन गर्ने गरिएको छ ।
यसैबीच बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई आजदेखि कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ । आवश्यकता पहिचान गरिएका ६० बर्षभन्दा माथिका स्थानीय नागरिकको निःशुल्क दाँत राख्न लागिएको नगरले जनाएको हो ।
नगरले दाँत नभएका नागरिकको पहिचानका लागि आजदेखि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनोट भएका सबैलाई निःशुल्क दाँत राखिदिने योजना बनाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले बताउनुभयो ।
शिविरबाट लागत अनुमान गरी सोहीअनुसार कोटेशन÷बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाइएको छ । “जेष्ठ नागरिकको सम्मानको लागि यस किसिमको कार्यक्रम गर्न लागेका हौँ”, नगर प्रमुख शान्तिरत्न शाक्यले भन्नुभयो । उहाँका अनुसार कार्यक्रमले नगरका ६० वर्षभन्दा माथिका नागरिकमा खुसी देखिने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री