
अछाम । माओवादी द्वन्द्वकालमा ध्वस्त भएको मङ्गलसेन दरबार अहिलेसम्म पुनः निर्माण हुन सकेको छैन । अलपत्र अवस्थामा रहेको अछाम दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत ज्ञापनपत्र बुझाउँदै टोलीले वर्षौंदेखि अलपत्र दरबार निर्माणको काम चाँडै पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मङ्गलसेन नगर प्रमुख पदमबहादुर बोहराको नेतृत्वमा मंगलबार गएको जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायत टोलीले पाँच सय १५ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।
द्वन्द्वकालमा क्षति भएका संरचना पुनःनिर्माण गर्ने सरकारको कार्यक्रमअन्तर्गत मङ्गलसेन दरबारको पुनःनिर्माणको काम थालिएको १५ वर्ष पुगिसक्दा पनि निर्माण अधुरै रहेको जनाउँदै यसतर्फ सम्बन्धित निकायले बेवास्ता गरेको यहाँका सरोकारवालाले गुनासो छ । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा रहेको तथा जिल्लाकै ऐतिहासिक र पहिचान बोकेको मङ्गलसेन दरबारको निर्माण पूरा गर्न पटकपटक संघीय सरकार, सम्बन्धित मन्त्रालय, मन्त्रीहरु र अन्य निकायमा दबाब स्वरुप ध्यानाकर्षण गराएको भए पनि प्रतिबद्धता अनुसारको काम नगरेको उनीहरुको गुनासो छ ।
सरकार र राजनीतिक संरक्षणमा विभिन्न बहानामा निर्माण व्यवसायीले दरबारको निर्माण हालसम्म पनि सम्पन्न नभएको हो । प्रमुख जिल्ला अधिकारी पोखरेलले दरबारको बिषयमा आफूले ठेकेदार र मन्त्रालयमा पटकपटक कुरा राखिरहेको उल्लेख गर्नुभयो । यो मागलाई तत्काल गृह मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाउने जनाउँदै आफ्नो तर्फबाट हुने प्रयासमा प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
सशस्त्र द्वन्द्वका समयमा २०५८ साल फागुन ४ गते दरबार ध्वस्त भएको थियो । ‘बोलपत्र’ आव्हान भई आर्थिक वर्ष २०६४÷६५ मा निर्माण व्यवसायी राजेन्द्र साउँद÷तुल्सी दुर्गा–कुँवर–बडिमालिका जे।भी। धनगढी कैलाली र तत्कालीन सहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय डोटीसँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा हालसम्म पनि निर्माण सम्पन्न भएको छैन । दरबार नबन्दा यसअघि निर्माण भइसकेको कामसमेत भत्किने जोखिम छ ।
मङ्गलसैनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको उक्त दरबार उनका छोरा दलबहादुर शाहको पालामा विसं १९३५ मा निर्माण सकिएको इतिहास छ । सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा दरबार किनेको अछामी इतिहासका जानकारहरु बताउँछन् । योगेन्द्र बहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । ३ तले दरबारमा ३० कोठा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री